नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय बनाउन थालेको छ । यस अघि कार्यालय रहेकै जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय नजिकै पार्टीको जिल्ला कार्यालय भवन बनाउन लागिएको हो । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १, मा रहेको उक्त पूरानो कार्यालय भत्काउन थालिएको छ ।
पूरानो भवन भत्काएर नयाँ आधुनिक खालको पार्टी कार्यालय बनाउने माओवादी केन्द्रले जनाएको छ । यस अघि पार्टी कार्यालय उद्घाटनका क्रममा केही दिनमा नयाँ भवन बनाउने घोषणा गरिएको थियो । त्यसै अनुरुप पूरानो भवन भत्काउन थालिएको छ ।
पूरानो भवन भत्काइ सके लगत्तै नयाँ भवन निर्माण कार्य सुरु गर्ने योजना रहेको जिल्ला अध्यक्ष गोपाल शर्माले जानकारी दिनुभयो । यस अघि नै पार्टी कार्यालय बन्नुपर्ने भएपनि पार्टी एकता भएपछि यो कार्य अलि ढिला भएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला अनुसार माओवादी र एमाले व्युँतिएपछि माओवादी केन्द्र रुकुम पश्चिमले पार्टी कार्यालय बनाउन थालेको हो ।
ठूला भेला, आमसभा तथा प्रशिक्षण कार्यक्रमहरु सेरीगाउँ र यताको पार्टी कार्यालय सम्पर्क कार्यालय, ससाना बैठकको रुपमा प्रयोग गर्ने गरी निर्माण हुने पार्टीले जनाएको छ । पार्टी, जनता र सम्भव हुने सबै स्रोत परिचालन गरेर पार्टी कार्यालय बनाइएने अध्यक्ष शर्माले बताउनुभयो । हाल पूरानो भवन भत्काउने काम भइरहेको र यो सकिएपछि भवन निर्माणको विस्तृत विवरण तयार हुने उहाँले बताउनुभयो ।
तल आउने भूगोलको आधारमा नक्सा डिजाइन हुने र लागत पनि त्यसपछि नै आउने अध्यक्ष शर्माले जानकारी दिनुभयो । पूरानो भवन भत्काइ सकेर डिजाइन, स्टामेट बनेपछि ४ देखि ५ महिनामा पार्टी कार्यालय तयार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।