रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ टुनीबोटका एकै घरका ३ जनाको भारतमा पहिरोले पुरेरिएर ज्यान गएको छ । कामको सिलसिलमा भारतको सिम्ला जिल्लाको क्यारामा बस्दै आएका एकै घरका तीन जनाको घर माथिबाट खसेको पहिरोले पुर्दा ज्यान गएको हो । पहिरोमा पुरिएर ज्यान गुमाउनेमा ४८ वर्षीया दिपबहादुर ओली, उहाँकी ५० वर्षीया श्रीमती भिमा ओली र छाेरा १७ वर्षीय मोहन ओली रहनुभएको छ ।
आज विहान ११ वजेको समयमा घर माथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको ९ नम्बर वडा सदस्य सन्तोष ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार ऋण धेरै भएकाले ऋण तिर्न भनेर दिपबहादुरको सबै परिवार भारत गएका थिए । कामको सिलसिलामा जेठा छोरा लोकेन्द्र भने परिवार बसेको घर भन्दा टाढा रहेकाले बच्न सफल हुनभएको छ ।
असार ४ गते मात्रै दिपबहादुर ओलीको परिवार भारत गएका थिए । १४/१५ लाख ऋण लागेकाले काज क्रिया गर्ने खर्च समेत नभएकाले जेठा छोेरा लोकेन्द्र ओलीले सबैमा सहयोगको याचना गरेको वडा सदस्य ओलीले जानकारी दिनुभयो ।