रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका इन्जिनियर माथि कुटपिट भएको छ । गाउँपालिकामा कार्यरत इन्जिनियर रेशम लम्साल माथि योजनाको कम मुल्यांकन गरेको भन्दै कुटपिट भएको हो । कार्यालय जाँदै गर्दा सानीभेरी गाउँपालिका ३ का गोविन्द ओलीले सिम्ली बजारमा इन्जिनियरलाई कुटपिट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताउनुभयो ।
२ पटक गालामा झापड हानेको र लात्तिले हानेर लडाएको इन्जिनियर लम्सालले बताएको उहाँले बताउनुभयो । इन्जिनियरमाथि कुटपिट गर्ने ओलीलाई सिम्ली प्रहरीले नियन्त्रणमा लिएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेल्टापु रंगशाला निर्माणको मुल्यांकनलाई लिएर इन्जिनियरमाथि कुटपिट भएको बताइएको छ ।
कर्णाली प्रदेश पूर्वाधार विकास अन्तर्गत रंगशाला निर्माणका लागि ५० लाख आएको थियो । तर उक्त योजनाको ३६ लाखको मुल्यांकन भएको थियो । रंगशाला निर्माण समितिका अध्यक्ष ओलीले यही विषयलाई लिएर इन्जिनियर माथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले बताउनुभयो ।
ओलीले भने यो घटनामा योजना मुल्यांकनको कुनै साइनो नभएको बताउनुभएको छ । सिम्लीमा निर्माण भइरहेको कवर्डहलका विषयमा इन्जिनियर लम्सालले आफुले नभनेको कुरा कवर्डहल निर्माण समितिमा हाल्दिदा विवाद सृजना भएको बताउनुभयो । आफुले नभनेको कुरा भनेर इन्जिनियर लम्सालले आफु र कवर्डहल निर्माण समितिका विचमा विवाद सृजना गर्न खोजेपछि आफुले त्यसो नभएको निर्माण समितिलाई बुझाइरहेका बेला इन्जिनियर लम्साल पनि सोही ठाउँमा आएपछि माहोल उग्रह बनेको ओलीको भनाई छ ।