Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व विद्यार्थीद्धारा विद्यालयलाई सहयोग
शिल्ड सञ्चालन हुने जनता मावि पोखरा ।

रुकुम पूर्व सिस्ने गाउँपालिका ३, को जनता माध्यामिक विद्यालय पोखरालाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । विद्यालयका अभिभावक, समाजसेवी, पूर्व विद्यार्थीहरुले राष्ट्रपति रनिङ शिल्डमा आवश्यक पर्ने खेल पोशाक तथा अरु प्रयोजनका लागि आर्थिक सहयोग गरेका हुन् । हाल अमेरिकामा रहेका नवचन्द्र खड्का र विष्णु खत्रीले २५/२५ हजार गरी ५० हजार मूल्यका खेल पोशाक उपलब्ध गराउनु भएको छ ।

सिस्ने गाउँपालिकाले पालिका स्तरीय रनिङ शिल्ड यहि विद्यालयमा गर्दै छ । शिल्डमा आयोजना गरिएको विभिन्न खेलमा सहभागि हुने छात्राछात्र खेलाडीका लागि जुत्ता, नेक्याप सहितका खेल पोशाक पूर्व विद्यार्थीले सहयोग गरेको विद्यालयले जनाएको छ । आफ्नै गाउँको विद्यालयका लागि थोरै भएपनि सहयोग गरिएको नवचन्द्र खड्काले बताउनुभयो ।

सोही विद्यालयलाई बाँफिकोट गाउँपालिका ३, रुकुम पश्चिम घर भइ हाल अमेरिका रहनु भएका नरेशकुमार मल्लले पनि आर्थिक सहयोग गर्नुभएको छ । मल्लले २० हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको प्रध्यानाध्यापक कलु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्वाङ घर भइ हाल अमेरिका रहनुभएका बालाराम खड्काले २० हजार, पूर्व विद्यार्थी तथा नेपाल सरकारका शाखा अधिकृत विश्वलाल खड्काले १५ हजार ५ सय ५५, पूर्व विद्यार्थी कविता शर्माले १० हजार एक सय सहयोग गर्नुभएको छ । 

यसैगरी अभिभावक गंगालाल खत्रीले १० हजार, हेराम खड्काले १० हजार र शरदकुमार विकले दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । अरु अभिभावक, समाजसेवी, पूर्व विद्यार्थीहरुले पनि नगद सहयोग गर्ने घोषणा गर्नुभएको विद्यालयका शिक्षक तथा शिल्ड सञ्चालनका लागि बनेको आर्थिक संकलन र  साँस्कृतिक समितिका संयोजक हिरालाल खड्काले जानकारी दिनुभयो ।

शिल्डमा खर्च व्यवस्थापनका लागि विद्यालयको आन्तरिक स्रोत अपुग हुने भएकाले सहयोगिहरुलाई स्वैच्छिक सहयोगको अपिल गरिएको संयोजक खड्काले बताउनुभयो । चैत १२ देखि १६ गते सम्म विद्यालयमा सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन हुँदै छ । शिल्डमा गाउँपालिका स्तरका सबै मावि विद्यालयको सहभागिता रहने गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update