Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
जिल्लाको भूमे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ । तस्बिरः कखरा ।

रुकुमपूर्वको भूमे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार भूमे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी निमप्रसाद गिरीका अनुसार बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ । 

नियमित खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको थियो । त्यसअन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको गिरीले जानकारी दिनुभयो । सिस्ने गाउँपालिकालाई गत वैशाख महिनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो भने पुथाउत्तरगङ्गालाई मङ्गलबार र भूमेलाई बुधबार घोषणा गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरीको भनाई छ । 

१६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका खोप लगाएपछि जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो–‘खोपले जीवन र पैसा दुबै बचाउँछ । त्यसैले आगामी दिनमा पनि सबै बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन हामी सबैको उत्तिकै भूमिका हुन्छ ।’

पलिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएकोले अब जिल्ला स्तरीय घोषणा गर्न बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा यही असार ३१ गते गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update