रुकुम पश्चिममा ९० प्रतिशत रोपाई सकिएको छ । कृषि विकास कार्यालयका अनुसार लगभग रोपाई अन्तिम चरणमा पुगेको छ । जिल्लामा जेठ २०–२२ गते देखि साउन पहिलो सातासम्म रोपाई हुने गरेको छ । अव लगभग रोपाई सकिने अवस्थामा रहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।
मुसिकोटको माछिमी जिउला लगायतका ठाउँमा रोपाई चलिरहेको उहाँको भनाई छ । खोला आसपासका ठाउँमा जेठ तेस्रो साताबाट नै रोपाई सुरु हुने गरेकोमा अन्य ठाउँमा साउन पहिलो सातासम्म रोपाई चल्ने गरेको उहाँको भनाई छ । यो वर्ष समयमै पानी परेका कारण रोपाईमा समस्या नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सानीभेरी, जहारीखोला, मुग्लुखाेला आसपासका फाँटहरुमा धेरै खेती हुने गरेको छ । तुलनात्मक रुपमा चौरजहारीमा धेरै र त्रिवेणीमा कम धान खेती हुने गरेको कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा धान खेती योग्य जग्गा भने घट्दो क्रममा रहेको छ ।
एकिन तथ्यांक नभएपनि धान खेती हुने फाँटहरुमा धमाधम घरहरु बन्न थालेपछि धान खेती खुम्चिदो अवस्थामा रहेको निमित्त कार्यालय प्रमुख केसीले बताउनुभयो । जिल्लामा मुख्यगरी खुमल–४, राधा–४, सुख्खा–३ र स्थानीय जात तथा हाइब्रिड लगायतको धान खेती हुने गरेको कार्यालयले जनाएको छ । धान जिल्लाको प्रमुख खाद्य बाली हो ।।