रुकुम पश्चिमका १३ जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि र पशु तर्फ विभिन्न विधामा छुट्टा छुट्टै कृषकलाई नगद सहित पुरस्कृत गरिएको हो । त्यस्तै २ वटा सहकारी पनि पुरस्कृत भएका छन् । कृषि तर्फ ७ जना कृषक र एक सहकारी तथा पशु पालन तर्फ ६ जना कृषक र एक सहकारी पुरस्कृत भएका हुन् ।
कृषि विकास कार्यालय र पशु सेवा कार्यालयको संयुक्त वार्षिक समिक्षा कार्यक्रमको अवसरमा कृषक र सहकारीलाई पुरस्कृत गरिएको हो । कृषकलाई नगद १० हजार र सम्मान पत्र तथा सहकारीलाई २० हजार र सम्मान पत्रले सम्मान गरिएको हो ।
कृषिमा मौरीपालन तर्फ बाँफिकोट गाउँपालिका ४ का नरबहादुर चन्द, फलफूल कागती खेती तर्फ त्रिवेणी गाउँपालिका २ का पुष्पलाल बोहरा, फलफूल किवी तर्फ बाँफिकोट गाउँपालिका ७ का चुके शाही र खाद्यान्न बाली बीउ तर्फ मुसिकोट नगरपालिका ७ की यामकुमारी पाण्डेलाई पुरस्कृत गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सानीभेरी गाउँपालिका ९ का टंकप्रकाश खड्का तरकारी बीउ, त्रिवेणी गाउँपालिका ५ की बिमला ओली सिताके च्याउ, मुसिकोट नगरपालिका ३ का चक्रबहादुर बिष्ट तरकारी खेती र सहकारी तर्फ चौरजहारीको समशिताेष्ण उन्नत बीउ उत्पादन सहकारी पुरस्कृत भएको छ । सहकारीका अध्यक्ष गोपा बिएमले पुरस्कार ग्रहण गर्नुभएको थियो ।
पशुमा बाख्रा पालन तर्फ आठबीसकोट नगरपालिका १२ का इकर्के पुन, भैंसी पालन तर्फ मुसिकोट नगरपालिका ४ का राजु ओली, बंगुर पालन तर्फ मुसिकोट ४ की लुमा खड्का, घाँस विकास तर्फ मुसिकोट ४ का पलबहादुर खड्का, माछा पालन तर्फ आठबीसकोट ७ का तिलक बुढा र कालिज पालन तर्फ चौरजहारी नगरपालिका ४ का धिरज भण्डारी पुरस्कृत भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताउनुभयो ।
पशु पालन तर्फ सिदार्थ कृषि सहकारी संस्था मुसिकोट ४ पुरस्कृत भएको शर्माले बताउनुभयो । सहकारीका तर्फबाट रिमा खड्काले पुरस्कार ग्रहण गर्नुभयो । पुरस्कारका लागि आवेदन दिएका मध्येबाट उत्कृष्ट कृषकलाई छनौट गरी पुरस्कृत गरिएको उहाँले बताउनुभयो । कृषक प्रोत्साहनका लागि हरेक वर्ष उत्कृष्ट कृषक पुरस्कृत गर्ने गरिएको छ । कर्णाली प्रदेशले उत्कृष्ट कृषकलाई सुनको हलोले पुरस्कृत गर्ने गरेको छ । प्रदेश भरीमा पुरस्कृत भएका मध्येबाट सर्वोत्कृष्टलाई एक तोला सुनको हलोले पुरस्कृत गर्ने गरिएको छ ।