Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेटमा कृषि विकास र पशु अस्पताल तथा पशु सेवा कार्यालयको वार्षिक समिक्षा  

कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले संयुक्त रुपमा जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी संचालन गरेका छन् । आज दुई वटै कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा जिल्ला भर गरेका गतिविधिको प्रगति सार्वजनिक गर्न संयुक्त रुपमा समिक्षा गोष्ठी आयोजना गरेका हुन् । कृषि विकास कार्यालयले वर्षभरी गरेका गतिविधि तथा कार्यक्रम र तिनको प्रगति निमित्त प्रमुख मिनबहादुर केसीले सार्वजजिक गर्नुभएको हो । 

पुश अस्पताल तथा पशु सेवा कार्यालयले गरेका कामहरुको निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले जानकारी गरानुभएको थियो । जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले बताउनुभयो । जिल्लामा उत्पादन हुने धान, मकै, गहुँ, कोदो, फापर लगायतका खाद्यान्न बालीले जिल्लाको आवश्यकतालाई धानेको र बाहिरबाट खाद्यान्न रोकिने अवस्था आएमा पनि जिल्लामा उत्पादन भएको खाद्यान्नले जिल्लालाई पुग्ने उहाँको भनाई छ । 

कृषि विकास कार्यालय मार्फत किसानलाई उत्पादनमा जोड्न विभिन्न अनुदानका कार्यक्रमहरु संचालन भएको केसीले बताउनुभयो । त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानुकुमार शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रुकुम पश्चिम माछा मासुमा आत्मनिर्भर रहेको बताउनुभयो । माछा मासुका साथै दुध उत्पादन पनि जिल्लामा वृद्धि हुदैँ गएको उहाँको भनाई छ । केही वर्षयता देखि माछा मासुमा जिल्ला आत्मनिर्भर बन्दै गएकाले जिल्ला बाहिरको आश गर्नुनपर्ने उहाँको भनाई रहको छ । 

कार्यक्रमबाट जिल्लाका १३ जना उत्कृष्ट कृषक र २ उत्कृष्ट सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले कृषिमा अनुदान भन्दापनि अव प्रोत्साहनका कार्यक्रम संचालन हुनेपर्ने बताउनुभयो । कृषक आँफै व्यवसायिक बन्नुपर्ने र यसमा सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ । साथै उहाँले निर्यात गर्ने गरी उत्पादन हुनुपर्ने बताउनुभयो । सानो रुपमा भन्दापनि ठूलो मात्रामा निर्यात गर्ने गरी उत्पादनमा जोडिन उहाँले कृषकहरुलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update