Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमको वार्षिक प्रगति सार्वजनिक 
प्रगति सार्वजनिक कार्यक्रम ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति सार्वजनिक गरेको छ । आज वार्षिक प्रगति समिक्षा कार्यक्रमको आयोजना गर्दै कार्यालयले एक वर्षको अवधिमा गरेका काम तथा कार्यक्रम र प्रवाह गरेको सेवाका बारेमा जानकारी गराएको हो । 

जिल्ला प्रशासन कार्यालयबाट १ वर्षमा ५ हजार १ सय ७६ वटा नयाँ नागरिकता जारी भएका छन् । यही अवधिमा ३ हजार १ सय २३ जनाले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २ जनाले नागरिकता त्याग गरेका छन् भने १ जनाको नागरिकता रद्द भएको छ । 

१ वर्षमा २४ जनाले नाबालिक परिचय–पत्र, द्धन्द प्रभावितका लागि राहात वितरण अन्तर्गत २९ जनाले ३० लाख ७२ हजार राहत, प्रकोप व्यवस्थापन अन्तर्गत ९० जनाले २ लाख ७० हजार २ सय ९२ रुपैयाँ राहत र वैदेशिक रोजगारी क्षेतिपूर्ति अन्तर्गत ३ जनाले २ लाख ९२ हजार ६ सय ३४ रुपैयाँ प्राप्त गरेको वार्षिक प्रगतिमा उल्लेख छ । 

गतवर्षबाट जिम्मेवारी सरेर आएका २२ वटा मुद्दा यो वर्ष फछ्र्यौट भएका छन् भने यो वर्ष १९ वटा नयाँ मुद्दा दर्ता भएकामा १९ वटै मुद्दा फछ्र्यौट भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश बडुवालले जानकारी गराउनुभयो । त्यस्तै सवारी ज्यान क्षतिपूर्ति सम्बन्धी ८ वटा मुद्दा दर्ता भएकामा सबै फछ्र्यौट भएको उहाँको भनाई छ । 

उहाँका अनुसार विभिन्न विषयमा यो वर्ष १ सय १६ वटा उजुरी दर्ता भएकामा उक्त सबै उजुरी पनि फछ्र्यौट भएका छन् । मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने १४ जना व्यक्तिहरु कारबाहीमा परेका छन् । १ वर्षमा राष्ट्रिय परिचय पत्रका लागि ८ हजार ४ सय विवरण संकलन भएको छ । जसमा पुरुष ५ हजार १३ छन् भने महिला ३ हजार ३ सय ८७ जना रहेका छन् । 

जिल्ला प्रशासन कार्यालयले १ वर्षमा ७ पटक बजार अनुगमन गर्दा कारबाही स्वरुप १ लाख ५८ हजार ३ सय ९६ रुपैयाँ जरिवाना संकलन गरेको छ । त्यस्तै १ वर्षमा १ हजार ३ सय ६५ वटा राहदानी जारी भएका छन् । प्रशासनले १ वर्षको अवधिमा २ करोड ६५ लाख ९८ हजार ३ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएको छ । 

यसका साथै विभिन्न नवप्रवर्तनीय कामहरु पनि भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । नागरिक सचेतना, जेष्ठ नागरिक र विशेष क्षमता भएका नागरिकलाई सहायता कक्षका कर्मचारी मार्फत सम्बन्धित फाँटमा लिएर सेवा दिने, विकासे आयोजनाको अनुगमन, समन्वय, दुर्घटना न्युनिकरण लगायतका सचेतामूलक कार्यक्रमहरु संचालन भएको उहाँले बताउनुभयो । 

सेवाग्राही मैत्री वातावरण निर्माण, सेवाग्राहीको सन्तुष्टी मापन, हरेक बुधबार नागरिकता वितरण पश्चात नागरिक कर्तव्य, दायित्व तथा अधिकारका विषयमा सेवाग्राहीलाई सचेतना प्रदान समेत गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update