हरेक पालिकामा पहिलो चरणमा पाँच शय्याको पालिका अस्पताल स्थापनाको काम अघि बढाइएको छ । तर, कतै निर्माण हुँदै छ भने कतै अलपत्र तथा मुद्दा समेत झेलिराखेका छन् । तत्कालिन सरकारले २०७७ सालमा हरेक स्थानीय तहमा अस्पताल निर्माणको काम अघि सारेको थियो । रुकुमपूर्वका तीन गाउँपालिकाले अस्पताल सञ्चालनका लागि भवन शिलान्यास गरे । तर, भूमे बाहेक पुथाउत्तरगङ्गा र सिस्नेमा पाँच शय्याको अस्पताल भवनको काम अलपत्र अवस्थामा रहेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा पालिका अस्पताल निर्माण गर्न सङ्घीय सरकारले जिल्लाका तीन गाउँपालिकामा अस्पताल निर्माणका लागि ६ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । त्यसपछिका वर्षहरूमा भने काम अघि बढ्न नसकेका पालिकामा बजेट घट्दै आएको छ । भूमेको वडा नम्बर ९ चुनबाङमा पालिका अस्पताल निर्माणको काम भइरहेको छ भने सिस्नेको वडा नम्बर २ नायगाड र पुथाउत्तरगङ्गाको वडा नम्बर ११ तल्लोसेरामा अस्पतालको काम अलपत्र अवस्थामा रहेको छ ।
पुथाउत्तरगङ्गामा निर्माणका लागि छनोट परेको निर्माण सेवाको कागजपत्र फर्जी रहेको भन्दै अख्तियारमा मुद्दा परे देखि काम अघि बढ्न नसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरीले बताउनुभयो । उक्त मुद्दा टुङ्गो लागि नसकेकोले अस्पतालको कामकाज प्रभावित हुन पुगेको गिरीले जानकारी दिनुभयो । भवन निर्माणका लागि छनोटमा परेको सिस्ने मिसन-धुलिखेल जेभीलाई मुद्दा परेर विवादित भएकोले भखर्रै दोस्रो पटक अर्को टेन्डर आह्वान गरिएको गिरीले बताउनुभयो ।
यसैगरी सिस्नेको वडा नम्बर २ नायगाडमा बन्न लागेको पालिका अस्पतालको काम अलपत्र अवस्थामा रहेको गाउँपालिकाका इञ्जिनियर कणर्बहादुर केसीले बताउनुभयो । कुँवर डेपोलक्स निर्माण सेवाले अस्पताल भवन निर्माणको जिम्मा पाएको थियो । निर्माण सेवाले हाल सम्म भवन निर्माणका लागि जग मात्र तयार गरेको छ । ठेकेदारले भौगोलिक कठिनाईका कारणले निर्माण सामग्री ढुवानी गर्न नसकेको लगायतका विभिन्न बहाना गरी हाल ठेकेदार सम्पर्क विहीन भएको इञ्जिनियर केसीले जानकारी दिनुभयो । पालिकाबाट निर्माणका लागि पटकपटक पत्र मार्फत ठेकेदारलाई अनुरोध गर्दा समेत निर्माण कामलाई निरन्तरता दिन नसकेको केसीको भनाइ रहेको छ । निर्माण कार्यको अवधि आउँदो पुस महिना सम्म रहेको केसीले बताउनुभयो ।
भूमेको वडा नम्बर ९ चुनबाङमा भने करिब ७० प्रतिशत काम भइसकेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक उपेन्द्र यादवले बताउनुभयो । रेवित प्रकृति निर्माण सेवाले काम गरिराखेको छ । पाँच शय्याको अस्पताल भवनको संरचना तयार भइसकेको यादवले बताउनुभयो ।
प्लास्टर, अस्पताल परिसरको सजावट, झ्याल, ढोका मिलाउने काम बाँकी रहेको निर्माण सेवाका सब कन्टेक्टर नन्दराज थापाले बताउनुभयो । आठ करोड ४० लाख रुपियाँ बजेटमा चुनबाङको पालिका अस्पताल निर्माण भइरहेको छ । पहिलो चरणमा सबै पालिकामा पाँच शय्याको अस्पताल सञ्चालन गरिने छ भने यसलाई थप स्तरोउन्नति गर्दै १५ शय्याको अस्पताल स्थापना गरी सेवा सञ्चालन गरिने बताइको छ । २०७७ मङ्सिर १५ गते एकैसाथ तीन वटै पालिकामा भवन निर्माणका लागि शिलान्यास गरिएको थियो ।