जि.एम. दिपु देपेन्द्र
सल्लेरी पाखाबाट
बन्चरो र हसियाँको आवाज आँऊदा
बाबाआमाले
लडिन्छ भन्दाभन्दै पनि
कुदेर झर्रो निकाल्ने ठाँऊ पुग्ने
सानोमा मै हो ।
साउन बार्न माईती गाँऊ आएकी
फुपु र दिदीहरुले सेल रोटी दिदाँ
बाबा को दौरामा लटपटिदैँ
खुसिले नाँच्ने
सानोमा मै हो ।
महिनौँ अघी देखी थुपारेर राखेको
चोखेनको घिऊ भागमा पर्दा
घिया तिहारमा नाक खुम्चयाउदै
घिउ भात खाने
सानोमा मै हो ।
तिउरी फुल कुटेर
हात रंग्याउन
छिमेकीका करेसाबाट
तिउरी फूल चोरेर घरतिर भाग्ने
सानोमा मै हो ।
काग भलायो,
कुरीलो र कुकुरडुईनाहरु
खोज्न जाँदा जंगलमा
धमिराको देवलनेर बगाले च्याऊ
भेटिन्छ कि भनेर चनाखो हुने
सानोमा मै हो ।
बेलुका घरको आँगनमा झर्रो बालेर
कुरिलो जलाऊदाँ
'बाघको जुंगा पोलियो’ भन्दै
बढी उफ्रिने
सानोमा मै हो ।
आमाले नाङलो ठटाउदा
बा ले शंख फुक्दा
गाईको घाँटीमा बाँधेको घन्ट झिकेर
जोडजोडले बजाउने मै हो ।
चार दिशातिर झर्रोका राँकाहरु हुत्याऊँदा
ओई फलानोघरे लुतो लैजाऊ भन्दै
गाँऊमा ठुलो सुनिने स्वर
सानोमा मेरै हो ।
ठुलोमा अहिले,
शहरमा कोठा बनाएर बसे देखी
रहरमा अंकुश लागेको छ
आफ्नै संस्कृतीका पानाहरु पनि
आफ्नै सन्ततिहरुलाई पढाउन सकिएको छैन ।
ड्याडी !, “यो लुतो फाल्ने पर्व भनेको के हो ?“
भनेर छोराले सोध्दा
म आफै कुनै कोत पर्व र
भण्डारखाल पर्वमा परे जस्तै लाग्छ ।
बाबा आमाले सिकाएको सबै संस्कार
मैले मेरा सन्ततिहरुलाई सिकाउन सकिन ।
बाबा आमाले बचाएका सबै आश्थाहरु
मैले मेरो पालोमा बचाउन सकिन ।
लाग्छ मैले अब यसको सजाय पाउनुपर्छ ।
त्यसैले, कसैले,,
गाँऊको झिसमिसे साँझमा
सबै सिने भुमे र देवि देवता साँची राखेर
यो लुतो फाल्ने पर्वमा
फालिदिनु मलाई नै, लुतो सम्झेर ।
फालिदिनु मलाई नै, लुतो सम्झेर ।।