Kakhara सबैको खबर सम्पूर्ण खबर
विकासमा जोडिँदै चुनवाङ
भेरीडाँडा जान बनाइएको सिढी ।

रुकुम पूर्वको भुमे गाउँपालिका ९ मा पर्ने ऐतिहासिक चुनवाङ पूर्वाधार निर्माणमा जोडिदै गएको छ । नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा चर्चामा रहेको चुनवाङमा विकास निर्माणले गति लिएको छ । जनयुद्धका बेला माओवादीले महत्वपूर्ण काममा प्रयोगमा ल्याएको चुनवाङबासीले विकासको अनुभुती गर्न पाएका छन । भेरीडाँडामा बसेको माओवादीको बैठकले शान्ति स्थापनामा जाने एजेण्डा तय गरेको थियो ।

यसैले पनि चुनवाङमा चर्चामा रह्यो । चुनवाङ २०७४ सालदेखी सडक सञ्जालमा जोडिएको छ । २०७४ साल अघी रोल्पाको परिवर्तण गाउँपालिका दुईखोलीसम्म सहिद मार्ग पुगेको थियो  । अहिले उक्त सहिद मार्गबाट मात्र नभई मध्य पहाडी लोकमार्गमा जोडिएको महत कोर्जा सडक खण्डबाट पनि चुनबाङ पुग्न सकिन्छ । देश संघियताको कार्यान्वयनमा गएपछि तीन तहका सरकारको बजेटबाट यहाँ विकास निर्माणका कामहरु भैरहेका छन् ।

सहिद मार्ग र महत कोर्जाको सडक हुँदै चुनवाङमा पुग्न सकिने भएपछी सहज भएको नागरिकले बताएका छन् । यहाँका टोलटोल पनि सडक सञ्जालमा जोडिदै गएका छन् । लाखरखोला, च्याङचुङ, सिमचौर, भेरीडाँडा, बुढागाउँ सडक सञ्जालमा जोडिसकेको वडा अध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो । वडाध्यक्ष पुनका अनुसार चुनवाङलाई रुकुमकोटसम्म जोड्न ट्रयाक ओपनको काम धमाधम भैरहेको छ । लुम्बिनी प्रदेश सरकारको क्रमागत बजेटबाट रुकुमकोट सडक खण्ड निर्माणका लागि सिमलबोदेखि सिमचौरको स्यालासम्मको सडक निर्माण भएको छ ।

अव १५ किलोमिटर सडक निर्माण पश्चात चुनवाङ सिधै रुकुमकोटसँग जोडिने वडा अध्यक्ष पुनले बताउनुभयो । हाल सञ्चार सेवा पनि विस्तार भएपछि नागरिकलाई सजिलो भएको छ । वडाका सबै टोल बस्ती र कुनाकन्दारामा नेपाल टेलिकमको फोनले काम गर्न थालेपछी सहज भएको स्थानीय महेश ओलीले बताउनुभयो । युद्धमा चर्किएका घाउहरुमा विस्तारै मलमपट्टि लाग्न थालेको महशुस भएको उहाँले बताउनुभयो । भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले यहाँका जनताको समस्या समाधान गर्न संघीय तथा प्रदेश सरकारसँग सहकार्य तथा सहयोग लिएर अघि बढिरहेको बताउनुभयो छ ।

स्थानीय लघु जलविद्युत आयोजनाहरुबाट यहाँका गाउँलाई झलमल पारिएको छ । प्राय सबै टोलमा विद्युत सेवा पुगेको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो । समग्र गाउँपालिकाको विकाससँगै ऐतिहासिक चुनवाङको विकासमा गाउँपालिकाले विशेष ध्यान दिने उहाँले बताउनुभयो । यसलाई युद्ध पर्यटनको रुपमा विकास गर्नका लागि डिपिआर गरी विभिन्न पूर्वाधारहरु निर्माण भैरहेको उहाँले बताउनुभयो । ठाउँठाउँमा पर्यटन पदमार्ग निर्माण भएका छन ।

भेरीखोला देखी भेरीडाँडा, गैरीगाउँदेखी डाँडागाउँ तीन बहिनी सम्म पदमार्ग निर्माण भएको छ । यस्तै सिस्ने गाउँपालिका ७ देखी भेरीडाँडा जोड्नलाई पनि पदमार्ग निर्माण भैरहेको छ । एक घर एक धाराको अवधारण अनुसार बाहुनडिना  लिफ्ट खानेपानी आयोजना पनि निर्माणकै क्रममा रहेका र सिँचाईको सुविधा पुर्याउन सिमचौर स्प्रिङकल सिँचाई आयोजनाको काम पनि जारी रहेको बताइएको छ ।

विकास निर्माण र परिवर्तण क्रम अनुसार हुने भन्दै गाउँपालिका अध्यक्ष बुढाले यहाँका जनताले विकासको अनुभुती र संघियताको मर्म बुझ्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यहाँका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन चुनवाङमै १५ शैय्याको अस्पताल बनाउने कार्य अघि बढेको छ । 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update