Kakhara सबैको खबर सम्पूर्ण खबर
५ वर्षमा मुसिकोटको सबैभन्दा बढी बजेट खर्च गत वर्ष, वित्तीय प्रगति ८७ प्रतिशत

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले वितेको आर्थिक वर्ष २०७९/०८० मा ८७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । स्थानीय तह बनेपछि नगरपालिकाले सबैभन्दा बढी बजेट खर्च वितेको वर्ष गरेको हो । 

आर्थिक वर्ष २०७५/०७६ मा ८५.२९ प्रतिशत, २०७६/०७७ मा ६७.७२ प्रतिशत, २०७७/०७८ मा ७८.२३ प्रतिशत र २०७८/०७९ मा ८४.७१ प्रतिशत बजेट खर्च गरेको नगरपालिकाले वितेको आर्थिक वर्ष २०७९/०८० मा ८७.०५ प्रतिशत बजेट खर्च गरेको हो । 
५ वर्षमा भने नगरपालिकाको वित्तीय प्रगति ८०.७५ प्रतिशत छ । गत वर्ष कुल ९३ करोड ३२ लाख ५७ हजार विनियोजन गरेकामा ८१ करोड २३ लाख ७९ हजार खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चालु भन्दा पुँजीगत खर्च बढी छ । चालु तर्फ खर्च ८५.४७ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ ९०.२३ प्रतिशत रहेको छ । 

चालु तर्फ ६२ करोड ३५ लाख २३ हजार बजेट विनियोजन भएकामा ५३ करोड २९ लाख १४ हजार खर्च भएको छ । पुँजीगत तर्फ ३० करोड ९७ लाख ३४ हजार बजेट रहेकामा २७ करोड ९४ लाख ६५ हजार बजेट खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । वितेका ५ वर्षमा बजेट खर्चका हिशावले वितेको आर्थिक वर्ष अन्य वर्षको तुलनामा सफल रहेको उहाँले बताउनुभयो । 

यसैविच नगरपालिकाले वितेका ५ वर्षमा ३ अर्ब १८ करोड ९९ लाख २ सय ४४ रुपैयाँ खर्च गरेको छ । यद्धपि यि ५ वर्षमा कुल ३ अर्व ९५ करोड २ लाख ८५ हजार बजेट विनियोजन भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update