-रुकुम पश्चिममा ४,५६० छोरी खाता संचालनमा, तर अधिकांश खाता रित्तै ।
-छोरीका खातामा जम्मा गर्न ३ करोड ५९ लाख अपुग ।
-छोरीप्रति हुने विभेद घटाउने, माध्यमिक तहसम्मको अध्ययनको ग्यारेन्टी गर्ने र विहेबारी २० वर्ष पारी गराउने उद्देश्यले कर्णाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम सुरु गरेको हो ।
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रभावकारी बन्न सकेको छैन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि सञ्चालन गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रभावकारी बन्न नसकेको हो । छोरी सुरक्षा कार्यक्रम अन्तर्गत खोलिएका छोरीका बैंक खाता २ वर्ष देखि रित्तै छन् ।
प्रदेश सरकारले खाता सञ्चालन भएको सुरुको महिना १ हजार र त्यसपछिका हरेक महिना ५ सय रुपैयाँ जम्मा गर्दिदै आएको थियो । विगत २ वर्ष देखि भने प्रदेश सरकारले बजेट नपठाउँदा छोरी सुरक्षा खातामा रकम जम्मा गर्न समस्या भएको त्रिवेणी गाउँपालिका रुकुम पश्चिमकी महिला तथा बालबालिका शाखा प्रमुख सिर्जना ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वितेका आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा ३ सय ५१ छोरीको खातामा नियमित पैसा जम्मा भएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा २ सय २८ छोरीको पहिलो किस्ताका लागि बजेट आयो । भने त्यसपछि खोलिएका खाता शुन्य रहेको ओलीको भनाई छ ।
प्रदेश सरकारबाट बजेट नआउँदा पालिकामा २ वर्षदेखि करिव ७ सय ६२ छोरीको खातामा रकम जम्मा हुन सकेको छैन् । कर्णाली प्रदेश सरकारले २०७६/०७७ को साउन महिना देखि जन्मिएका छोरीलाई पहिलो महिना १ हजार र त्यसपछि २० वर्षसम्म हरेक महिना ५ सय रुपैयाँका दरले जम्मा गर्ने निर्णय गरेको थियो ।
पालिकामा छोरी सुरक्षा अन्तर्गत सञ्चालन भएका ७ सय ६२ बैंक खातामा रकम जम्मा गर्न करिव ५२ लाख रकम अभाब रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
त्रिवेणीमा मात्र होइन जिल्ला भर नै यस्तै समस्या रहेको छ । मुसिकोट नगरपालिकामा हालसम्म ८ सय ७६ छोरीको खाता सञ्चालन भएकामा वितेको आर्थिक वर्ष २०७९/०८० मा २ सय छोरीका खाता रित्तै छन् । ८ सय ७६ छोरीको खातामा रकम जम्मा गर्न ७४ लाख बजेट अपुग रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै चौरजहारी नगरपालिकामा ७ सय ३९ छोरीका खाता सञ्चालनमा रहेकामा आर्थिक वर्ष २०७८/०७९ मा केही रकम प्राप्त भएपनि २०७९/०८० मा रकम नआउँदा १ सय ८९ खाता रित्तै छन् । त्यहाँ ७० लाख बजेट अभाव रहको महिला तथा बालबालिका शाखाकी प्रमुख पवित्रा पोख्रेरलले जानकारी दिनुभयो ।
अन्य पालिकाको समस्या पनि उस्तै हो । आठबीसकोट नगरपालिकामा छोरी सुरक्षा कार्यक्रम लागु भएपछि ८ सय ९ जना छोरीको खाता सञ्चालनमा आएका थिए । जसमा २ वर्ष निरन्तर प्रदेश सरकारले बजेट पठाएको थियो । २०७८/०७९ मा केही बजेट पठाएपनि वितेको आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारले बजेट नपठाउँदा २ सय ६२ छोरीका खाता रित्तै छन् । त्यहाँ ४२ लाख रकम अपुग भएको नगरपालिकाले जनाएको छ ।
बाँफिकोट गाउँपालिकामा ५ सय २४ खाता सञ्चालन भएकामा १ सय ८ छोरीका खाता रित्तै छन् । जसमा ५ सय २४ खातामा ५ सयका दरले १ वर्ष र १ सय ८ जना छोरीको पहिलो महिना १ हजार तथा त्यसपछि हरेक महिला ५ सय रुपैयाँका दरले खातामा रकम जम्मा गर्न झण्डै ४८ लाख रकम अपुग रहेको बाँफिकोट गाउँपालिकाले जनाएको छ ।
सानीभेरी गाउँपालिकाको समस्या पनि उस्तै छ । कार्यक्रम लागु भएपछि ८ सय ५० छोेरीको खाता खोलिएकामा २ सय ४० छोरीको खाता रित्तै छन् भने आर्थिक वर्ष २०७८/०७९ देखि निमतित बजेट नआउँदा ८ सय ५० छोरीको खातामा रकम राख्नको लागि पालिकालाई ७३ लाख बजेट अभाव रहेको सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीले बताउनुभयो ।
कुन स्थानीय तहमा कति खाता ? कति रकम अपुग ?
क्र.सं. | स्थानीय तह | खाता संख्या | अपुग रकम |
१. | मुसिकाेट नगरपालिका | ८७६ | ७४,०००००। |
२. | चाैरजहारी नगरपालिका | ७३९ | ७०,०००००। |
३. | आठबीसकोट नगरपालिका | ८०९ | ४२,०००००। |
४. | सानीभेरी गाउँपालिका | ८५० | ७३,०००००। |
५. | त्रिवेणी गाउँपालिका | ७६२ | ५२,०००००। |
६. | बाँफिकाेट गाउँपालिका | ५२४ | ४८,०००००। |
साढे तीन करोड बजेट अपुग
जिल्ला भरमा खोलिएका छोरीका खातामा तीन करोड ५९ लाख बजेट अपुग छ । यति ठूलो मात्रामा प्रदेश सरकारले बजेट नै नपठाएपछि जुन उदे्श्यले यो कार्यक्रम संचालनमा आएको हो त्यो पुरा हुनेमा आशंका बढेको छ । अपुग रहेको बजेट आउँछ या आउँदैन भन्ने बारेमा स्थानीय तहमा अन्यौलता छ । त्यस्तै अव यो कार्यक्रम कसरी अगाडी बढ्छ भन्ने बारेमा पनि अन्यौलता देखिएको छ ।
छोरीप्रति हुने विभेद घटाउने, माध्यमिक तहसम्मको अध्ययनको ग्यारेन्टी गर्ने र विहेबारी २० वर्ष पारी गराउने उद्देश्यले कर्णाली प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम सुरु गरेको हो । २० वर्ष नपुगि विवाह गर्ने छोरीले खातामा जम्मा भएको रकम नपाउने नियम रहेको छ ।
कुन स्थानीय तहमा कति छोरीका खाता ?
‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तर्गत जिल्ला भरमा कुल ४ हजार ५ सय ६० वटा खाता खोलिएको छ । सबैभन्दा बढी खाता मुसिकोट नगरपालिकामा ८ सय ७६ वटा खोलिएको छ । सानीभेरी गाउँपालिकामा ८ सय ५० वटा, आठबीसकोट नगरपालिकामा ८ सय ९ वटा, त्रिवेणी गाउँपालिकामा ७ सय ६२ वटा, चौरजहारी नगरपालिकामा ७ सय ३९ वटा र बाँफिकोट गाउँपालिकामा ५ सय २४ वटा खाता खोलिएको छ ।
प्रदेश सरकारले केही जानकारी दिएको छैन्ः आचार्य
सामाजिक विकास कार्यालय रुकुम पश्चिमका प्रमुख धनञ्जय आचार्यले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तर्गत खोलिएका खातामा आउनुपर्ने रकम रोकिएको सन्दर्भमा प्रदेश सरकारले कुनैपनि जानकारी नगराएको बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० नसकिदै यस बारेमा ताकेता गर्दा बजेट प्रदेश योजना आयोगमा रोकिएको जानकारी आएको भएपनि हाल भने कुनै जानकारी नभएको बताउनुभयो ।
‘आर्थिक वर्ष नसकिदै प्रदेश योजना आयोगबाट बजेट रिलिज हुन नसकिरहेको जानकारी आएको थियो, उहाँले भन्नुभयो–आर्थिक वर्षको अन्तिमसम्म भएपनि आउँछ कि भन्ने आश थियो तर अव भने आर्थिक वर्ष सकिसकेको अवस्थामा के हुन्छ भनेर भन्न सकिने अवस्था छैन् ।’ दुरगामी योजना नहुँदा समस्या देखा परेको उहाँको भनाई छ । महोत्वकांक्षी कार्यक्रम हुनु तर दुरगामी योजना नहुदा समस्या भएको उहाँले बताउनुभयो । यसरी लामो समयसम्म बजेट नआउने हो भने एकै पटक रकम पठाउन प्रदेश सरकारलाई समस्या हुने आचार्यले बताउनुभयो ।