जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बिद्युतिय कारोबार ऐन बिरुद्धको कसुरमा एक व्यक्तिलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत द्वेष फैलाएको भन्ने किटानी जाहेरीका आधारमा जिल्लाको चौरजहारी नगरपालिका ५ लहरेसिमलका डिल्लीराज शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘सवाल जरुरी छ’ नामक फेसबुक पेजबाट बिद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद–९ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध घृणा तथा द्वेष फैलाउने सामग्री प्रदर्शन गरेको भन्दै किटानी जाहेरी परेपछि अदालतबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
प्रहरीले बुधबार जिल्ला अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको जनाएको छ । शर्मा नेकपा एमालेको जनवर्गिय संगठन युवा संघ नेपालको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँ लगायतले भ्रष्टाचार, वेतिथि, अनियमितताका विरुद्धमा आवाज उठाउने भन्दै केही समय अघि ‘सवाल जरुरी छ’ अभियानको घोषणा गर्नुभएको थियो ।