Kakhara सबैको खबर सम्पूर्ण खबर
पुस्तक समिक्षा :- 'ओ पेङ्दोर्जे !'

मैले यो कृति पढ्नु अगाडी र पढेर सकाए पछि ‘पेङ्दोर्जे’ र पुस्तकको आवरण चित्र बारे बुझ्ने सक्दो कोसिस गरे । मैले कोसिसबाट थाहा पाएको कुरा के भने, पेङ्दोर्जे प्राचिनकालका एक तामाङ कलाकार थिए । जसले तामाङ जातीको बिशेष बाजा डम्फुको आविष्कार गरेका थिए । यसर्थ कृतिको नामले नै यहाँ एउटा सिंगो पहिचान र इतिहास बोकेको छ । अझ राम्रो कुरा एउटा कृतिले एउटा सबैले सम्झिनुपर्ने चिन्नुपर्ने कलाकारको पहिचान दिने काम गरेको छ । कुनै दिन सामान्य ज्ञानमा भेटियो होला डम्फुका आविष्कारक पेङ्दोर्जे हुन भनेर । तर अब यो मन मष्तिस्कले कहिले बिर्सने छैन, एउटा कलाकारको नाम– पेङ्दोर्जे ! जसरी भानुभक्तलाई मोतीराम भट्टले पहिचान दिनुभएको इतिहास छ । अब अर्को इतिहास लेखिएको छ । महोत्तरी खयरमाराका कवि राजु स्याङ्तानले डम्फुका आविष्कारक कलाकार पेङ्दोर्जेलाई पहिचान दिनुभएको छ ।

कृतिको आवरण चित्र हेर्दा सामान्य देखिए पनि गम्भिर प्रकृतिको रहेछ भन्ने यथार्थ मैले अलिकति आवरण चित्र बारे चासो राखेर बुझ्न सके । पेङ्दोर्जेले पहिलोपटक आफ्नो प्रेमिकालाई खुसी बनाउन कोइरालोको रुखको काठ र मृगको छाला प्रयोग गरी ३२ वटा बाँसको किला ठोक्दै डम्फुको निर्माण गरेका रहेछन् । ओ पेङ्दोर्जे ! को आवरण चित्रमा देखिने डम्फुमा पनि ठिक ३२ वटा किला नै रहेछन् । डम्फुको निर्माता पेङ्दोर्जेले बजाएको डम्फुको आवाज र पेङदोर्जेले गाएको गित सुनेर त्यो परापुर्वकालमा खुसीले डाँफे पनि नाच्न थालेछ रे । डाँफे नाचेको देखेपछि पेङदोर्जेले डम्फुको घेरोको शिरपट्टि डाँफेको प्रतीक पनि बनाएछन् । अहिले कृतिको आवरणमा डम्फुको घेरोको शिरपट्टि देखिने चराको चित्रले सायद यही डम्फुको कथा बोलेको होला । त्यसैगरी आवरण चित्रमा डम्फुको मुनितिर देखिने ४ जना मान्छेहरुको चित्रले तामाङ जातिको साँस्कृतिक पहिचान इंगित गरेको पक्कै पनि होला । मैले चासो राखेकै आधारमा मध्य नेपालबाट कृति आवरणको बारे यति धेरै कुराहरु बुझ्न सके भने कृति लेखक कवि राजु स्याङ्तान र आवरण चित्रकार विकेन प्रजापतिको बिचार अभिव्यक्ति कति धेरै होला यस कृतिको आवरण चित्रमा । 

राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय नाम हो । ओ पेङ्दोर्जे !, पब्लिकेशन नेपा–लय, कालिकास्थान काठमाडौंबाट प्रकाशित भएको कवि स्याङ्तानको पहिलो कविता संग्रह हो । समकालिन नेपालको यथार्थ चित्रण, उपेक्षित उत्पिडित तथा लक्षित बर्गहरुको आवाज, राजनैतिक बिद्रोह एवं सचेतनाको उत्कृष्ट संयोजन यस कृति भित्रका कविताहरुमा भेट्न सकिन्छ । कृति समर्पण नै लेखिएको छ कि ‘नयाँ युगको पिपा र सुसारे बन्न अस्विकार गर्नेहरुलाई’ । आह ! यति बाटै पनि थाहा हुन सक्छ कि कविमा बिद्रोही चेत कति भरपुर छ भनेर । मलाई गज्जव लागेको कृतिको अर्को स्मरणीय पक्ष चाँही यो कृति सिधै समर्पणदेखी सिर्जना सुचिमा पुगेको छ । अधिकतम भन्दा पनि मैले पढेका नेपाली अनुवादित बिदेशी पुस्तकहरु बाहेक अहिलेसम्मका सबै नेपाली पुस्तकहरुमा पुस्तकको खासियत सुरु हुनु अगाडी ठुलो ठुलो चिनिएका चर्चित मानिएका लेखकहरुले लेखिदिएको भुमिका, बढाई चढाई, समालोचना एवं बधाई शुभकामनाहरु देखिन्छन् । तर यस कृतिमा कुनै त्यस्तो पृष्ठहरु नआई सिर्जना सुचिहरु उर्फ कविताहरु आऊछन् । पुस्तकको बारेमा अरुको उद्दरण भनेको यस कृतीमा सिर्फ आवरणको पछाडी पट्टी पाँच लाइनमा मञ्जुश्री थापा नामबाट लेखिएको छ । जुन उद्दरण सटिक र यथार्थ छ । बनावटी छदैँ छैन ।

कुल १५१ पृष्ठमा सजाइएका ५१ वटा सुन्दर कविताहरुले यस कविता कृति तयार भएको छ । यस कृतिमा सिर्जना सुचिहरु राख्दा पनि सुन्दर तरिकाले राखिएको छ । मजदुरको घोषणा पत्र, आमा तिमी मात्र, योद्दा, अन्तिम प्रेमपत्र, एक दिन, र पिपाको कथा गरेर ६ भाग बनाएर त्यसमा फरक फरक शिर्षकका कविताहरु राखिएको छ । जुन हरेक भागको उठानमा अर्थपूर्ण चित्र र छोटो कविता अंशले कवितामा पुग्नु अगाडी नै ध्यान केन्द्रित बनाऊन पुगिहाल्छन् । संग्रहमा भएका कविताहरू धेरै जसो मध्यम लामो खालका र केही छोटाछोटा पनि छन् । लामो कविताहरु पढ्दा पनि कतै पट्यार नलाग्नु र छोटो कविता पढ्दा ठाँऊको ठाँऊ मुखबाट वाह् निस्किनु कविको कविता लेखनको खुबिले नै हो । कवि स्याङ्तानले लेखेका यसभित्रका कविताहरू कुनै सरल छन् भने कुनै मध्यम खालका र कुनै बृहत गहिराइका पनि छन्, जसलाई साधारण पाठकले नबुझ्न सक्छन् । कविले देश भन्दा पर का बिद्रोह, इतिहास, संघर्ष, घटनाक्रम र परिवर्तनका किस्साहरुलाई पनि कवितामा उनको देखिन्छ । इजिप्टको पिरामिड बनाउदा बनाउदै रगत सकिएर मरेका इजिप्सियनहरु देखी कोरोना महामारीमा भारी बोक्दा बोक्दै किर्तिपुरको सडक किनारमा मृत भेटिएका सुर्य बहादुर तामाङहरु सम्मको कथा–व्यथा छ ओ पेङ्दोर्जे ! मा, बलात्कृत आमाबाट जन्मेकी अनागरिक चेलीहरु देखि दरबारका भित्ताहरु रगतले पोत्दै बलिदान दिन पुगेका सुसारे माम् र पिपाहरुका चित्कारहरु छन् ओ पेङ्दोर्जे ! मा, कतारबाट फर्केर देशमै बेपत्ता भएका दाईहरु देखि, छाती खोलेर बर्मा र एल्पस पहाडमा लड्दा लड्दै गुमनाम भएका बहादुर पुर्खाहरुका गाथा छन् ओ पेङ्दोर्जे ! मा । त्यसगरी डोजरले कुरुप पारेका गाँउहरुका दर्द, शहरमा रुस्लान भोड्कासँगै भेटिएका आधुनिक पेङ्दोर्जेहरुका रवाफ, रोल्पा रुकुममा छुटेका माओ र प्रचन्डका चित्रहरु, राती सपनीमा झस्काउने सहिदहरुका आवाजहरु सबै छन्, ओ पेङ्दोर्जे ! मा । अधिकतम् कविताहरुले बिद्रोहको आगो ओकलेका छन् । तामाङ समुदाय देखि नेपाली समुदायको सजिव दृश्य त छ नै त्यो भन्दा पर यस भित्रका कविताहरुमा कविले अन्तराष्ट्रिय क्षेत्रका बिद्रोहका स्वरहरु पनि सजिव उतार्न सफल देखिन्छन् । महत्वपुर्ण कुरा कविले कविताहरुमा युगको सजिव चित्रण सँगै सचेतनाको आवाजहरु पनि घन्काएका छन् ।

मेरो माटो खोसेर
मेरो इतिहास च्यातेर 
मलाई किनारमा धकेलीदिने
ओ बादशाहहरु हो !
म तिम्रो अघि 
लोरी सुनाउन आएको होईन् 
चिडियाखानाबाट निस्किएको बाघले
लोरी सुनाउदैन ।
(पृष्ठः– १३७)

कवितामा प्रयोग भएका तामाङ भाषि शब्दहरुले कवितामा अनौठो मादकता दिएका छन् । सजिलोका लागी कविताको मुन्तिर नेपाली अर्थ लेखिएका केही तामाङ भासी शब्दावालीहरुको अर्थ त कृती पढ्दा पढ्दै मष्तिस्कमा आजिवन सुरक्षित भईसक्छ । जस्तो कि, मैले अब कहिले बिर्सन सक्ने छैन कि तामाङ भासामा काठमाडौंलाई ’याम्बु’ भनिन्छ, बाजे बज्यैलाई ’म्हेमे र माम’भनिन्छ, सबैभन्दा तल्लो तहमा काम गर्ने कामदारलाई ’पिपा’ भनिन्छ... यस्तै यस्तै । आफ्नो धर्म र जातीहरुको आवाज बुलुन्द हुने गरी लेखिएका कविताहरुको ओजन निकै धेरै छ यस कविता कृती ओ पेङ्दोर्जे ! मा । कविले यस कृती मार्फत आफ्नो पुर्खाको धरोहर, कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न जोड पनि दिएको देखिन्छ । 
  
च्याङ्बा !
हेर कस्तो सुहाएको 
यो तामाङ टोपिमा !
भो नबन आधुनिक च्याङ्बा
बरु निकाल आदिम ढ्यांग्रो
जाऔ तिमी र म
ऊ त्यो ’ज्योमोगाङ्मा’ मा (८सगरमाथा) उक्लिएर
जोड जोडले बजाऔ
अनि सुनाऔँ सबै –सबैलाई
लुटिएको हाम्रो 
याम्बु (८काठमाडौँ ) को कथा 
(पृष्ठ ः– १११)

कविता संग्रहमा संग्रहित मामाघर, ऐना र आँखा, नयाँ वर्ष, अन्तिम दोबाटो र किस्ताबन्दी जस्ता सटिक कविताहरुको स्वाँद निकै कडक अत्तरको जस्तो सुगन्धित छ । यि छोटा कविताहरुको गुदी यति रसिलो लाग्छ कि जुन पढिसकेपछी जिब्रोमै झुन्डिएर बसिदिन्छ ।

‘मामाघर’
जड्याहा बाउले कुट्यो भनेर
लुगाको पोको बोकी
त्यसरी रुदै रुदैँ
मामाघर नजाऊ आमा

त्यहाँ पनि त मामाले
यसरी नै कुट्छन् माईजुलाई ।
(पृष्ठ ः–२९)

‘किस्ताबन्दी’
जुन दिनदेखी
किस्ताबन्दीमा निकालेँ
यो मोटरसाईकल

त्यस दिनदेखी
स्वतन्त्र भयो मोटरसाईकल
बन्दि भएँ म
(पृष्ठ ः–८७)

कवि राजु स्याङ्तानले यस कविता संग्रहमा संग्रहित गरेका कविताहरु बारे लेख्ने हो भने हरेक कविताको एक छुट्टै लामो लेख बन्न जान्छ । मुलतः यो कविता संग्रह बिद्रोही आवाजमा आए पनि कविताहरुहरुको 
लेखन शैली, शिर्षक छनोट, भाव प्रस्तुतिकरण, बिम्ब प्रयोग निकै कलात्मक र विविधताले भरिपुर्ण छ । यस भित्रका कुनै पनि कविताहरु कुनै भाव आवेग, आग्रह पुर्वाग्रह र कल्पनाशिलतामा डुबेर मात्रै लेखिएका बिल्कुल छैनन् । यि सबै कविताहरु हाम्रै जीवन, जगत र भोगाईका वास्तविक छविहरुमा चित्राङ्कीत हुन पुगेका सुन्दर सिर्जनाहरु हुन् । कवि स्याङ्तानमा बिद्रोही चेत भरपुर छ । हाम्रो समाजलाई जुन आवश्यक प्रतिभा हो । यथार्थ लेख्न र लेखेर बिद्रोह गर्न डराउने लेखक के लेखक ?

सारमा भन्नुपर्दा राजु स्याङ्तान द्दारा लिखित पहिलो कविता सङ्ग्रह ‘ओ पेङ्दोर्जे !’ पाठकहरूका लागि एकदमै पठनीय छ अर्थात प्रत्येक पाठकहरूले पढ्नै पर्ने कविता संग्रह कृती हो ’ओ पेङ्दोर्जे !’ भन्ने धारणा व्यक्त गर्दछु । आगामी दिनहरुमा पनि कवि स्याङ्तानका यस्तै धेरै सुन्दर कृतिहरू प्रकाशित भइरहून् भन्ने शुभकामना व्यक्त गर्दछु । साथै यस ’ओ पेङ्दोर्जे !’ कविता कृतीले छिट्टै नै थप संस्करणहरु निकाल्न सकोस् राम्रो पाठकहरु, धेरै पाठकहरु प्राप्त गर्न सकोस् भन्ने शुभेच्छा पनि दिन चाहन्छु । र एक खुद्रा पाठकको हैसियतले कवि या प्रकाशक समक्ष सानो अनुरोध:– आगामी संस्करणमा कविको पनि विचार अनुभुति समेटिएको सानो पृष्ठ थपियोस्, र मिल्छ भने कृतिको शिर्षक र आवारण चित्रबारे केही जानकारी पनि राखियोस् । 

कृति – ओ पेङ्दोर्जे !
लेखक – राजु स्याङ्तान
प्रकाशक – पब्लिकेशन नेपा–लय, कालिकास्थान काठमाडौं
मूल्य – रु. ३४५
पृष्ठ संख्या – १५१

दिनांक –२०८०÷०४÷०३
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update