Kakhara सबैको खबर सम्पूर्ण खबर
मुुसिकोटका मासु पसललाई भित्ते प्रचारपत्र

रुकुम पश्चिमको मुसिकोट नगरपालिका पशु सेवा शाखाले नगरपालिका भित्र सञ्चालनमा रहेका मासु पसलहरुमा शुद्ध र ताजा मासु बेच्न अनुरोध गर्दै भित्ते प्रचारपत्र वितरण गरेको छ । शाखाले नगरपालिका भित्रका पातुखोला, खलंगा, बागबजार, सेरिगाउँ र झुलखेतका विभिन्न ३० वटा मासु पसलहरुमा उपभोक्तालाई शुद्ध र ताजा मासु वित्रि वितरण गर्न अनुरोध गर्दै भित्ते प्रचारपत्र वितरण गरेको हो । 

नगरपालिकामा दर्ता भएका र दर्ता नभएका ३० वटा मासु पसलहरुमा व्यवसायीहरुले गर्न हुने र गर्न नहुने विभिन्न १२ वटा नारा समेटिएको भित्ते प्रचारपत्र वितरण गरिएको नगर पशु सेवा शाखाका प्राविधक शिवराज महताराले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले विभिन्न समयमा मासु पसलहरुमा अनुगमन गर्दा सरसफाईमा ध्यान नदिएको, स्वस्थ मासु विक्रि नगरेको, उपयुक्त चिस्यानको व्यवस्था नभएको लगायतका समस्या देखिएका थिए । 

यस्ता खालका कमि कमजोरीमा सुधार ल्याउन मासु व्यवसायीले गर्न हुने र गर्न नहुने नारा समेटिएको भित्ते प्रचारपत्र वितरण गरेको उहाँको भनाई छ । पशु सेवा शाखाले मासु पसल सञ्चालन गरेका व्यवसायीलाई  ५० प्रतिशत अनुदानमा सामग्री पनि वितरण गरेको छ । सबै प्रक्रिया पुर्याएर नगरपालिकामा दर्ता भएका ९ वटा मासु पसल मध्ये ६ वटाले माग गरे बमोजिम ३ सय ८० लिटरका डि फ्रिज, २ वटा पसलमा ब्याट्री सहित इन्भरटर र एउटा पसलमा  डिजिटल तराजु वितरण गरिएको बताइएको छ । 

नगरपालिका भित्र रहेका ६५ वटा मासु पसल अनुगमन, सामग्री वितरण, भित्ते प्रचारपत्र वितरण लगायतमा ५ लाख खर्च हुँदा पशु वधशालाको डिपिआरमा ५ लाख गरेर जम्मा १० लाख खर्च भएको पशु सेवा शाखा मुसिकोट नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update