रुकुम पश्चिममा ४ वर्षमा १ सय २२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि वितेको आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म जिल्ला भरमा १ सय २२ जनाले आत्महत्या गरको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आत्महत्या गर्नेमा पुरुष ६० जना, महिला ३७ जना, बालक ८ जना र बालिका १७ जना रहेका छन् ।
४ वर्षको विचमा सबैभन्दा बढी आत्महत्या आर्थिक वर्ष २०७७/०७८ मा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो वर्ष १६ पुरुष, १० महिला, ५ बालक र ६ बालिका गरी ३७ जनाले आत्महत्या गरेका थिए । घटना भने ३६ वटा भएका थिए । एउटा घटनामा दुई जनाले सामुहिक आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै वितेको आर्थिक वर्ष २०७९/०८० मा ३० जनाले आत्महत्या गरेको उहाँले बताउनुभयो । १५ जना पुरुष, ९ जना महिला र ६ जना बालिकाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । वितेको वर्ष बालकले भने आत्महत्या नगरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १३ पुरुष, ११ महिला, १ बालक र ३ बालिका गरी २८ तथा आर्थिक वर्ष २०७८/०७९ मा १६ पुरुष, १० महिला, ५ बालक र ६ बालिका गरी २७ जनाले आत्महत्या गरेका थिए । यि ४ वर्षमा आत्महत्याका १ सय २१ वटा घटना भएका छन् । जसमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेका घटना छन् ।
प्रहरीका अनुसार ४ वर्षमा १ सय वटा घटना झुण्डिएर आत्महत्याका छन् । विष सेवनका १२, हाम फालेर २ र आत्महत्या दुरुत्साहनका ७ वटा घटना गरेका छन् ।
यो अवधिमा १६ देखि ३० वर्ष उमेर समुहका सबैभन्दा धेरैले आत्महत्या गरेका छन् । यो उमेर समुहका ४३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । ३१ देखि ४५ वर्ष उमेर समुहका २९ जना र १६ बर्ष मुनिका २१ जनाले आत्महत्या गरेका छन् । त्यस्तै ४६ देखि ६० वर्ष उमेर समुहका १७ जना र ६० वर्ष माथिका १२ जनाले आत्महत्या गरेका छन् ।
धेरै कारण छन्ः जिल्ला प्रहरी प्रमुख भट्टराई
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले आत्महत्याका पछाडि विभिन्न कारणहरु रहेको बताउनुभयो । ‘कतिले घरेलु हिंसा, कतिले मादक पदार्थ सेवन र यसका कारणले गरिबि र सम्बन्ध विच्छेदको अवस्था आउँदा आत्महत्या गर्ने गरेको पाइएको छ, उहाँले भन्नुभयो–सामाजिक असमानता, परीक्षा लगायतमा असफलता, दीर्घ रोग, सानै उमेरमा प्रेम सम्बन्धमा पर्नु र प्रेममा असफलता लगायतका कारण पनि छन् ।’ उमेर समुह अनुसार कारणको प्रकृति फरक फरक रहेको उहाँको भनाई छ ।
‘सबै निकायले ध्यान दिनुपर्छ’
आत्महत्या रोकथामका लागि प्रहरीले सचेतनाको पाटोमा काम गरिरहेको डिएसपी भट्टराईले बताउनुभयो । ठाउँ ठाउँमा भिडिओ सचेतनाका साथै विद्यालय स्तरमा पनि आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु संचालन भइरहेको उहाँको भनाई छ । अव वडा स्तरसम्मै यस्ता कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
साथै उहाँले आत्महत्या रोकथामका लागि स्थानीय तह सहितका सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । कम्तिमा स्थानीय तहमा काउन्सिलरको व्यवस्था हुन सक्यो भने परामर्शको माध्यमबाट आत्महत्या रोक्न टेवा पुग्ने विश्वास उहाँको छ । नियमित रुपमा मेटिभेशन कक्षाहरु संचालन हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।