वितेको आर्थिक वर्ष २०७९/०८० मा रुकुम पश्चिममा कर्णाली प्रदेशबाट आएको ७० करोड बढी रकम फ्रिज भएको छ । स्थानीय तह र प्रदेश मातहतका विभिन्न कार्यालयमा आएको सबै बजेट खर्च हुन नसक्दा ७० करोड २५ लाख २ हजार ७ सय ४१ रुपैयाँ फ्रिज भएको प्रदेश लेखा इकाई कार्यालयले जनाएको छ । यो कुल बजेटको २३.८८ प्रतिशत हो ।
कार्यालयका अनुसार प्रदेशबाट जिल्लामा चालु र पुँजीगत तर्फ गरी कुल २ अर्ब ९४ करोड २३ लाख ७९ हजार ७ सय ५० रुपैयाँ आएकामा २ अर्ब २३ करोड ९८ लाख ७७ हजार नौं रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ७६.१२ प्रतिशत हो । जिल्लामा चालु तर्फ ८४ करोड २५ लाख ९७ हजार ७ सय ५० रुपैयाँ आएकामा ८०.२२ प्रतिशत अर्थात ६७ करोड ५९ लाख ७१ हजार ३९ रुपैयाँ खर्च भएको छ ।
चालु तर्फ १६ करोड ६६ लाख २६ हजार ७ सय ११ रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको प्रदेश कोष लेखा इकाई कार्यालयका प्रमुख यामबहादुर पुनले जानकारी दिनुभयो । त्यस्तै पुँजीगत तर्फ ५३ करोड ५८ लाख ७६ हजार ३१ रुपैयाँ फिर्ता भएको उहाँले बताउनुभयो । उहाँका अनुसार पुँजीगत तर्फ जिल्लामा कुल २ अर्ब ९४ करोड २३ लाख ७९ हजार ७ सय ५० रुपैयाँ आएकामा २ अर्ब २३ करोड ९८ लाख ७७ हजार ९ रुपैया खर्च हुन सक्यो । यो भनेको ७४.४८ प्रतिशत हो ।
खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय र पूर्वाधार कार्यालयको काम भएको बजेट पनि भुक्तानी नहुनु र केही कार्यालयले कामै नगर्दा बजेट फ्रिज हुन पुगेको पुनले बताउनुभयो ।