Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटमा निःशुल्क आँखा अप्रेशन शिविर सुरु 
शिविरमा सेवा लिन आएकाहरु ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी र सुर्खेत आँखा अस्पतालको प्राविधक सहयोगमा नगरपालिकाले शिविर आयोजना गरेको हो ।  शिविरमा मोतिबिन्दुको समस्या भएका आँखाका बिरामिहरुको अप्रेशन गरिने छ । यसका अलावा आँखा चेकजाँच तथा उपचार पनि हुने नगर प्रमुख गोर्खवहादुर केसीले जानकारी दिनुभयो । शिविर वडा नं. ९ स्थित नगर अस्पतालमा चलिरहेको छ । पहिलो दिन ६० भन्दा बढीको अप्रेशन भएको छ ।

सुरुमा तीन दिनका लागि शिविर आयोजना गरिएको भएपनि बिरामिको चाप बढी भएका कारण ४ दिनसम्म संचालन गर्न लागिएको नगर प्रमुख केसीले बताउनुभयो । कोहि पनि बिरामि नफर्किने गरी शिविर संचालन हुने उहाँको भनाई छ । शिविरमा करिब ३ सय बढीको मोतिबिन्दुको अप्रेशन हुने अनुमान गरिएको छ । आठबीसकोट नगरपालिकामा मात्र २ सय १० जना अप्रेशन गर्नुपर्ने बिरामिहरुको पहिचान गरिएको र यसमा केहि बिरामि थप हुने देखिएको छ । त्यस्तै छिमेकी जाजरकोटको नलगाड नगरपालिकाबाट करिब १ सय बढी अप्रेशनका लागि आएको बताईएको छ । 

अप्रेशन र आँखा जाँच तथा उपचार गरी शिविरबाट ४ सय बढीले सेवा लिने देखिएको नगरपालिकाले जनाएको छ । शिविरमा सुर्खेत आँखा अस्पतालबाट डा. मनिष खतिवाडा सहित १२ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि खटिएका छन् । 

त्यस्तै अव नगरवासीले नगर अस्पतालबाटै आँखा सम्बन्धिको उपचार सेवा पाउँने भएका छन् । नगरपालिकाले यसका लागि १ जना कर्मचारी नियुक्त गरिसकेको र बाँकी एक जना कर्मचारी नियुक्त गरिने जनाएको छ । आँखा सम्बन्धि सेवाका लागि नगरवासीलाई बाहिर जान नपरोस भनेर नगर अस्पतालबाटै सेवा सुरु गरिएको नगर प्रमुख केसीको भनाई छ । 

 
 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update