रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ४ वडालाई लक्षित गरेर वडा नम्बर १० बाट सामाजिक सुरुक्षा भत्ता वितरण सुरु भएको छ । सेवाग्राहीको सहजताका लागि वडा नम्बर १०, ११, १२, १३ र १४ नम्बरका सेवाग्राहीका लागि नेपाल बैंक लिमिटेड चौरजहारीले वडा नम्बर १० बाट सामाजिक सुरक्षा भत्ता वितरण आजबाट सुरु गरेको हो ।
पायक पर्ने भएकोले ४ वडाका सेवाग्राहीलाई लक्षित गरेर वडा नम्बर १० बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । आज पहिलो दिन वडा नम्बर १४ को सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । १० नम्बर वडा कार्यालयबाट भत्ता वितरण गर्ने पूर्व निर्धारित कार्यक्रम भएपनि वडा कार्यालयमा विद्युत र इन्टरनेट नभएका कारण सहिद स्मृति नगर अस्पतालबाट भत्ता वितरण भइरहेको छ ।
आज पहिलो दिन १४ नम्बर वडाका जेष्ठ नागरिक, अपांग र एकल महिलाले सामाजिक सुरक्षा भत्ता बुझिरहेको चौरजहारी नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाईका फिल्ड सहायक देवेन्द्र रोकायले जानकारी दिनुभयो । भोली वडा नम्बर ११ र १३ तथा पर्सि साउन ११ गते वडा नम्बर १० र १२ का लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
लाभग्राहीको समस्यालाई मध्यनजर गर्दै सहजताको लागि नेपाल बैंक लिमिटेड मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीता थापाले बताउनुभयो । वर्षातको समयमा चौरजहारी बजारमा पुगेर बैंकबाट भत्ता बुझ्न सेवाग्राहीहरुलाई समस्या हुने भएपछि बैंकसंगको समन्वयमा गाउँमै भत्ता वितरणको व्यवस्था गरिएको उहाँको भनाई छ ।