यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले लाइसेन्स वितरणको तयारीलाई तिव्रता दिएको छ । अहिले तत्काललाई नीजि ट्रायल सेन्टरबाट सेवा दिने गरी कार्यालयले तयारी गरिरहेको छ । यसका लागि चौरजहारी ड्राइभिङ तालिम सेन्टरले निर्माण गरेको नीजि ट्रायल सेन्टरलाई कार्यालयले भाडामा लिएको छ । अहिले उक्त ट्रायल सेन्टरमा मापदण्ड अनुसार व्यवस्थापनको काम भइरहेको छ । व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको सेन्टरले बताएको छ ।
कार्यालयको आफ्नै ट्रायल सेन्टर नबन्दासम्म यसैलाई प्रयोग गर्ने यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । यद्धपि ट्रायल सेन्टर निर्माणका लागि पूर्वाधार कार्यालयले टेण्डर भने आह्वान गरिसकेको उहाँले बताउनुभयो । ट्रायल सेन्टरका लागि चालु आर्थिक वर्षमा १ करोड ५० लाख बजेट आएको उहाँको भनाई छ ।
सवारी चालक अनुमति पत्रका लागि कार्यालयले साउन २ गते देखि अनलाइन फारम खुला गरेको थियो । आवेदन दिएकाहरुको साउन १४ गते देखि वायोमेट्रिक सुरु हुने कार्यालय प्रमुख चपाईले बताउनुभयो । वायो मेट्रिक भएपछि लिखित परीक्षा संचालन गर्ने र परीक्षा भएको एक साता भित्रै उत्तिर्ण भएकाहरुलाई ट्रायलमा सहभागी बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।
यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतको कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले सवारी दर्ता, नामसारी, कर असुल, ब्लु बुक नविकरण, रुट परमिट जारी लगायतका सेवा दिइरहेको छ ।
फोटोः यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीको फेसबुकबाट ।