रुकुम पश्चिमको मुसिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापन कार्यसमितिलाई बिदाई गरिएको छ । हाल मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी यस संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ सहित संस्थापन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आज बिदाई गरिएको हो ।
त्यस्तै संस्थाको भवनमा राखिएको शिलालेख अनावरण गरिएको छ । जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिकले भवनमा राखिएको शिलापत्रको अनावरण गर्नुभएको हो । यो संस्थाले मुसिकोटका विभिन्न वडामा खानेपानी वितरण गरिरहेको छ । आर्थिक वर्ष २०७१/०७२ मा सुरु भएको यस आयोजना आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएको थियो ।
यस आयोजनाबाट मुसिकोटका १ हजार ६५ घरधुरी लाभान्वित भएको संस्थाका सचिव महेन्द्र गौतमले जानकारी दिनुभयो । यस आयोजनामा कुल १६ करोड ८४ लाख ७१ हजार २ सय २४ रुपैयाँ खर्च भएको बताइएको छ । जसमा उपभोक्ताको नगद योगदान ७९ लाख २७ हजार ५ सय, नगर विकास कोषको ऋण ४ करोड ९६ लाख ७४ हजार १ सय २०, नेपाल सरकारको अनुदान ११ करोड ८७ लाख ९७ हजार १ सय ५९ रुपैयाँ रहेको छ ।
संस्थाका अध्यक्ष टोपबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देबबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो ।
कोषाध्यक्ष कर्ण ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव महेन्द्र गौतमले गर्नुभएको थियो ।