रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरामा आयोजित विभिध खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबल तर्फ रुकुम पश्चिम विजेता बनेको छ । राँके मेलाको अवसरमा हिमालय श्रृंखला चौरी युवा क्लबले आयोजना भएको प्रतियोगिता अन्तर्गत आज भएको फाइनलमा बाग्लुङ निसिखोलाको जनजागरण युवा क्लवलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै रुकुम पश्चिम विजेता बनेको हो ।
२–० ले पछाडि परेको अवस्थामा रुकुम पश्चिमले लगातार त्यसपछिका तीन सेट जित्दै उपाधि जितेको हो । विजेता रुकुम पश्चिमले नगद १ लाख रुपैयाँ सहित १० तोला चाँदीको रनिङ शिल्ड प्राप्त गरेको छ । फाइनलमा पराजित जनजागरण युवा क्लवले ५० हजार नगद सहित शिल्डमा चित्त बुझाएको छ ।
त्यस्तै कर्णाली प्रदेश तृतिय भएको छ । उसले नगद २५ हजार र कप पुरस्कार पाएको छ । पुरुष भलिबलमा रुकुम पूर्व, रुकुम पश्चिम र बाग्लुङका गरी ९ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिला भलिबल तर्फको उपाधी बाग्लुङको निसिखोलाले जितेको छ । उसले नगद ५५ हजार र रनिङ शिल्ड जितेको छ ।
महिला भलिबल तर्फ कर्णाली प्रदेश द्धितिय तथा स्थानीय सेराको टिम तृतिय भएको आयोजकले जनाएको छ । द्धितियले नगद २५ हजार कप र तृतियले नगद २५ हजार र कप पाएको आयोजकको भनाई छ । मेलाको अवसरमा खुला पुरुष, महिला भलिबल, फुटसल, दोहोरी गित, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष लक्षण बुढामगरले जानकारी दिनुभयो ।