Kakhara सबैको खबर सम्पूर्ण खबर
टोलटोलमा पुगेर एकीकृत सेवा प्रवाह
शिविर मार्फत सेवा प्रवाह गरिँदै ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका २, ले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । बेला बेला विभिन्न सेवा लिएर टोल टोल पुग्ने गरेको वडा यस पटक पनि टोल टोल पुगेर सेवा प्रवाह थालेको छ । पहिलो दिन छिपखोलाबाट सेवा प्रवाह थालिएको छ ।

वडाका किंदा, खरीबोट, तुवाङ, दतकुना, सुद्री र त्यसपछि छुटफुटलाई वडाबाटै पनि शिविरको रुपमा सेवा प्रवाह गरिने वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । घुम्ती शिविर मार्फत वडा कार्यालयले सम्पादन गर्ने सबै खालका सिफारिस, प्रमाण पत्र प्रदान, सामाजिक सुरक्षा भत्ता वितरण, मालपोत सेवा, कृषिको बीउ विजन वितरण, कृषि सम्बन्धिको परामर्श सेवा, पशु सेवा तर्फ औषधी उपचार, परामर्श सेवा पनि शिविर मार्फत प्रवाह भइरहेको छ ।

स्वास्थ्य चौकी मार्फत प्रेवाह हुने सेवाहरु स्वास्थ्य परीक्षण, औषधोपचार, परामर्श सेवा प्रवाह भइरहेको वडाध्यक्ष केसीले बताउनुभयो । कोरोना महामारीपछि पहिलो पटक शिविर मार्फत टोलटोलमा पुग्ने र अरु समस्याको बारेमा छलफल गर्ने टिपोट गर्ने र समाधानका लागि प्रयास गर्ने काम पनि सँगसँगै भइरहेको वडाध्यक्ष केसीले बताउनुभयो ।

शिविरमा वडाध्यक्ष केसी, सम्बन्धित टोलका वडा सदस्यहरु, प्राविधिक हेमराज पुन, वडा कार्यालय सहायक कृष्णबहादुर खड्का, पशु सेवा प्राविधिक चन्द्रकला खड्का, अहेब ओमप्रकाश विश्वकर्मा, कृषि प्राविधिक प्रेम खड्का लगायतको टोली परिचालन भइरहेको छ । शिविर एक हप्ता बढी चल्ने बताइएको छ । टोलटोलमा पुगेर सेवा प्रवाह गर्दा जनताका समस्या नजिकबाट देखिने, अन्तरक्रिया हुने र त्यसबाट आगामी योजना बनाउन सघाउन पुग्ने वडाध्यक्ष केसीको भनाई छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update