कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यातायात सेवालाई नागरिकको सहज पहुँचमा पुर्याउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । आइतबार बिहान रुकुम पश्चिमको चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी प्रक्रियाको सुभारम्भ गर्दै मुख्यमन्त्री शर्माले सबै नागरिकलाई यातायातको सहज पुहुँचमा जोड्ने गरी प्रदेश सरकार लागिपरेको बताउनुभएको हो ।
यसैअन्तर्गत दुर्गमका नागरिकहरुलाई लक्षित गर्दै चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको उहाँको भनाई छ । ‘हामी कसरी हुन्छ सहज रुपमा नागरिकहरुका विचमा सहज यातायात सेवा पुर्याउन लागिपरेका छौं, उहाँले भन्नुभयो–रुकुम पश्चिम, रुकुम पूर्व, डोल्पा, जाजरकोट, सल्यान, सुर्खेत लगायतका दुर्गम भेगका नागरिकहरुलाई लक्षित गरेर चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरेका हौं ।’
अहिले प्रदेशका सुर्खेत, जुम्ला र रुकुम पश्चिमको चौरजहारीबाट यातायात सम्बन्धी सेवा प्रवाह भइरहेकामा भोलीका दिनमा यि कार्यालयलाई व्यवस्थित गर्दै सेवालाई थप विस्तार गर्ने बारेमा पनि प्रदेश सरकार गम्भिर रहेको मुख्यमन्त्री शर्माले बताउनुभयो । स्थापना भएपनि लामो समय देखि कामविहिन अवस्थामा रहेको यातायात व्यवस्था सेवा कार्यालयको सेवा आफुले फागुन २१ गते सुभारम्भ गरेदेखि हालसम्म धेरैले लाभ लिएको देख्दा आफुलाई खुसी लागेको समेत उहाँले बताउनुभयो ।
केही सेवाबाट कार्यालय संचालनमा आएकामा अब भने लाइसेन्स वितरणको काम समेत सुरु भएकोमा खुसी व्यक्त गर्दै उहाँले यसले यो क्षेत्रका नागरिकहरुलाई ठूलो लाभ मिल्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सेवाको गुणस्तरमा ध्यान दिन कार्यालयलाई निर्देशन दिनुभएको छ ।
यसैविच मुख्यमन्त्री शर्माले यातायातको क्षेत्रमा केही नयाँ सोचिरहेको बताउनुभएको छ । ‘अहिले बस, मोटरसाइकल, अटो लगायतका सवारी साधन चलिहरेका छन्, त्यो भन्दा फरक ढंगले पनि हामी नयाँ केही सोच्न खोज्दै छौं, नयाँ केही गर्न खोज्दै छौं, म यसको धेरै चर्चा अहिले गर्न चाहन्न यत्ति मात्र भन्न चाहन्छु, उहाँले भन्नुभयो–हाम्रो बाटोको दुरि कसरी छोट्याउने, छिटो भन्दा छिटो सेवा कसरी प्रवाह गर्ने हामी त्यता छलफल बहश गर्दै छौं, खाका कोर्दै छौं ।’
त्यस्तै उहाँले यातायात क्षेत्र मात्र नभई समग्र क्षेत्रमा आएका विकृति र विसंगतिका विरुद्ध निर्मतापूर्वक लड्न जरुरी रहेको समेत बताउनुभयो । यसका लागि सबै क्षेत्र जिम्मेवार भएर लड्नुपर्ने उहाँको भनाई छ ।