Kakhara सबैको खबर सम्पूर्ण खबर
उद्घाटन भएको एक वर्षपछि आठबीसकोटबाट नापी र मालपोतको सेवा प्रवाह हुँदै 
आठबीसकोटमा गत वर्ष उद्घाटन भएका नापी र मालपाेत कार्यालय ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबाटै नापी र मालपोत सेवा प्रवाह हुने भएको छ । आठबीसकोटमा गत वर्ष नै नापी र मालपोत कार्यालय उद्घाटन गरिएको थियो । तर कर्मचारी र बजेट व्यवस्थापन नहुँदा सेवा भने अझै सुरु हुन सकेको छैन् । गत वर्ष असोज ९ गते आठबीसकोटको राडीमा नापी कार्यालय र मालपोत कार्यालय उद्घाटन गरिएको थियो । 

उद्घाटन भएको एक वर्षपछि सेवा प्रवाह हुन लागेको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको काम संचालन गर्ने अख्तियारी सहित विभागबाट कार्यालय प्रमुख तोकिएका छन् । यसअघि पनि कार्यालय प्रमुख तोकिएको थियो । तर कामको अख्तियारी भने दिइएको थिएन । 

अहिले नापी कार्यालय प्रमुखका रुपमा मानबहादुर आग्री र मालपोत कार्यालय प्रमुखका लागि बिमल आचार्यलाई जिम्मेवारी तोकिएको नगर प्रमुख केसीले बताउनुभयो । बाँकी कर्मचारी व्यवस्थापनको काम समेत भइरहेको छ । बजेट अभाव र कर्मचारी अभावका कारण उद्घाटन भएको एक वर्षसम्म पनि सेवा सुरु हुन नसकेकामा अब भने सेवा सुचारु गर्ने गरी तयारी भइरहेको उहाँको भनाई छ । 

यसका लागि आवश्यक बजेट व्यवस्थापन समेत भइसकेको उहाँले बताउनुभयो । साउन अन्तिम वा भदौ पहिलो साता देखि सेवा सुरु गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । मालपोत र नापीको सेवा नगरबाटै दिने गरी आठबीसकोटमै नापी र मालपोत कार्यालय स्थापना गरिएको थियो । 

सदरमुकामबाट टाढा भएका कारण त्यहाँका नागरिकलाई सदरमुकामसम्म पुगेर सेवा लिदा समय र पैसा धेरै खर्च हुने भएकोले सहज र सुलभ रुपमा सेवा प्रवाह गर्ने उद्ेश्य राखिएको नगर प्रमुख केसीले बताउनुभयो । आठबीसकोटबाटै नापी र मालपोतको सेवा आरम्भ भएमा नगरवासीलाई समय र पैसा बचत हुने तथा सेवाका लागि झन्झट व्यहोर्नु नपर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update