Kakhara सबैको खबर सम्पूर्ण खबर
अब रुकुम पश्चिमबाटै आयकर र अन्तःशुल्क कर तिर्न पाइने   

उद्योग वाणिज्य संघ रुकुम पश्चिमले व्यवसायीहरुका लागि अब जिल्लाबाटै अन्तःशुल्क कर र आयकर तिर्ने व्यवस्था मिलाएको छ । नयाँ आर्थिक वर्ष २०८०/०८१ को साउन देखि उद्योग वाणिज्य संघ रुकुमले जिल्लाबाटै अन्तःशुल्क कर र आयकर तिर्ने व्यवस्था मिलाएको हो ।

मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको व्यवसाय गर्दै आएका व्यवसायीहरुले अव उद्योग वाणिज्य संघ रुकुमबाटै अन्तःशुल्क र आयकर तिर्न सक्ने रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाका विभिन्न ठाउँमा व्यवसाय गर्दै आएका व्यवसायीलाई अब कर तिर्न सल्यानको श्रीनगर वा अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । अन्तःशुल्क र आयकर तिर्न बाँकी रहेका उद्योगि, व्यवसायीलाई साउन मसान्तसम्म कर बझाउन समेत रुकुम उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । गत वर्षको कर पनि बुझाउन सकिने छ ।  

अन्तिम वर्षको करचुक्ता प्रमाणपत्र र उद्योग वाणिज्य संघ रुकुममा दर्ता गरेको प्रमाण–पत्र सहित आयकर बुझाउन रुकुम उद्योग वाणिज्य संघले जनाएको छ । यसअघि भने जिल्लाका व्यवसायीहरु कर तिर्न सल्यानको श्रीनगर जानुपर्ने बाध्यता रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update