कर्मचारी मिलन केन्द्र रुकुमपूर्वले सहयोग जुटाएर आफ्नो भवन बनाउँने भएको छ । सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित आफ्नै जग्गामा भवन बनाउँने भएको हो । भवन निर्माणको लागि कर्मचारी मिलन केन्द्रले आर्थिक सहयोग जुटाइ रहेको छ ।
नयाँ जिल्ला भएकाले यस जिल्लामा कर्मचारी मिलन केन्द्रको भवन छैन् । छिट्टै भवन निर्माणका लागि आफूहरू जुटिराखेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष पिताम्बर बस्नेतले बताउनुभयो । भवन निर्माणका लागि सबैलाई अपिल गरिराखेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
सहयोग अपिल गरे अनुसार हालसम्म साढे तीन लाख हाराहारीमा आर्थिक सहयोग संकलन भएको बस्नेतले बताउनुभयो । आर्थिक सहयोगका लागि कर्मचारी मिलन केन्द्रका कार्यसमिति, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि लगायत स्थानीय बुद्धिजीवीलाई अपिल गरिएको उहाँको भनाइ रहेको छ । जसअनुसार भवन निर्माणको लागि आर्थिक सहयोग जुटिराखेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
एक हजार दुई सय वर्गमिटर क्षेत्रफलमा रहेको कर्मचारी मिलन केन्द्रको आफ्नै जग्गामा भवन बनाइने छ । हाल कर्मचारी मिलन केन्द्रको आफ्नै आन्तरिक स्रोतबाट जग्गा घेराबार गरिएको छ । मिलन केन्द्रको पदाधिकारी कक्ष, विभिन्न तालिम, गोष्ठी लगायत अन्य कार्यक्रम सञ्चालन गर्न मिल्ने खालको भवन निर्माण गरिने बताइएको छ । आफ्नै भवन नहुँदा हाल कर्मचारी मिलन केन्द्रको कार्यक्रम अन्य ठाउँमा गर्नु पर्ने बाध्यता रहेको छ ।