वितेको आर्थिक वर्ष २०७९/०८० मा रुकुम पूर्वको सिस्ने गाउँपालिकामा एक सय ३६ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा ४० जना र प्रधानमन्त्री रोजगार कार्यक्रमकै नेपाल सरकारको अनुदानमा ९६ जनाले रोजगारी पाएको गाउँपालिकाले जानकारी दिएको छ ।
उक्त कार्यक्रमबाट एक व्यक्तिले एक सय दिन बराबरको काम पाएका छन् । गाउँपालिकाका विभिन्न ठाउँमा २८ वटा बाटाहरु निमार्ण गरिएको छ । जसमा नयाँ गोरेटो तथा घोरेटो बाटाहरु १४ वटा निर्माण गरिएको छ भने १४ वटा मर्मत गरिएको रोजगार सहायक सन्देश गौतमले जानकारी दिनुभयो ।
रोजगारीको लागि गाउँपालिकामा १४ सय ६५ जनाले फारम भरेका थिए । न्युन आयस्तर भएका गरिब तथा विपन्न परिवारलाई छनोट गरी वडा कार्यालयको सिफारिको आधारमा छनोट गरी रोजगारी दिएको रोजगार सहायक गौतमले बताउनुभयो ।
गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७८ लाख रुपैयाँ आएको थियो । त्यस्तै रोजगार सेवा कार्यालयबाट वैदेशिक रोजगारीमा जाने युवाहरुलाई श्रम स्वीकृत तथा पूर्ण श्रमस्वीकृत सेवा समेत प्रवाह भइरहेको छ ।