Kakhara सबैको खबर सम्पूर्ण खबर
एउटै वडाबाट ३५ लाखको लसुन बिक्रि
वडामा उत्पादन भएकाे लसुन ट्याक्टरमा लाेड गरेर लगिदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० बाट वितेको आर्थिक वर्ष २०७९/०८० मा ठूलो मात्रामा लसुन निर्यात भएको छ । वडाका किसानले उत्पादन गरेको साढे ३ सय क्विन्टल लसुन निर्यात भएको वडाले जनाएको छ । 

वडाका झ्याङ, झाँडारी, जुगे खोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन जिल्ला सदरमुकाम खलंगा सहित जिल्ला बाहिरका विभिन्न बजारमा निर्यात भएको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो । 

उहाँका अनुुसार वडाबाट ३ सय ५० क्विन्टल लसुन निर्यात हुँदा ३५ लाख रुपैयाँ भित्रिएको छ । किसानले वडाबाटै प्रतिकिलो १ सय १० रुपैयाँका दरले लसुन बिक्रि गरेका छन् । वडाका किसानले लसुन बिक्रि गरेर ५० हजार देखि १ लाख ६१ हजार रुपैयाँसम्म आम्दानी गरेको वडाध्यक्ष खड्काको भनाई छ ।

वडा कार्यालयको पहलमा लसुन व्यापारी वडामै आएर लसुन खरिद गरेका हुन् । वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको वडाध्यक्ष खड्काले बताउनुभयो । वडाले यसै आर्थिक वर्ष देखि वडालाई लसुन पकेट क्षेत्र समेत घोषणा गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update