रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ र २ मा सुनौला हजार दिनका ५० जना आमाहरुलाई पानी शुद्धिकरण गर्ने फिल्टर वितरण गरिएको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा नम्बर १ र २ का ५० जना आमाहरुलाई १/१ वटा फिल्टर संगै प्रत्यक आमाहरुलाई १०/१० वटाका दरले हात धुने साबुन पनि वितरण गरिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा पोषण मैत्री नमुना टोलका सुनौला हजार दिनका आमाहरुलाई पानी शुद्धिकरण गर्ने फिल्टर र हात धुने साबुन वितरण गरिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक बिरबहादुर डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँ कार्यपालिकाले ५ वटा वडालाई स्वास्थ्य सेवाको पहुँजबाट टाढा भएका, पोषणको हिसावले कमजोर देखिएकोले पोषण मैत्री नमुना टोल घोषणा गरेको थियो । जसमा १, २, ८, ९ र १० नम्बर वडा रहेका छन् । प्रत्यक वडामा २५ जना सुनौला हजार दिनका आमाहरुको समुह निर्माण गरेर नमुना टोल बनाइएको छ । पोषण मैत्री नमुना टोल बनाएका १ र २ नम्बर वडाका ५० जना सुनौला हजार दिनका आमाहरुलाई सामग्रि वितरण गरिएको हो ।
बाँकी ८, ९ र १० नम्बर वडाका ७५ जना आमाहरुलाई पनि सामग्री वितरण गरिने डाँगीले बताउनुभयो । पोषण मैत्री कार्यक्रम गत आर्थिक वर्ष २०७९/०८० को भएपनि विभिन्न कारणले सामग्री वितरण गर्न ढिला भएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमका लागि गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको थियो ।