Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा सवारी कारबाहीबाट झण्डै १९ लाख राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले एक वर्षको अवधिमा झन्डै १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७/०८० मा विभिन्न सवारी साधन कारबाहीबाट १८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कागजात नबोक्ने, मदिरा सेवन गरेका, रुट परमिट नभएका, क्षमता भन्दा बढी यात्रु बोक्ने कागजात नभएका लगायत समस्या भएका सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

जिल्लामा कारबाही पर्ने सवारी साधन मध्य सबै भन्दा बढी मोटर साइकल रहेका छन् । एक हजार दुई सय ८९ मोटरसाइकल कारबाहीबाट दश लाख ७७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका इन्चार्ज सहायक प्रहरी निरीक्षक सन्दिप बिकले जानकारी दिनुभयो ।

यस्तै एक सय १८ वटा ट्रकबाट ८५ हजार पाँच सय रुपैयाँ र एक सय ८० वटा बसबाट एक लाख ४६ हजार पाँच सय रुपैयाँ संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यंकलमा उल्लेख छ । यस्तै चार सय २७ वटा कार जिप तथा भ्यानबाट तीन लाख १८ हजार पाँच रुपैयाँ संकलन भएको छ भने एक सय ९० वटा ट्याक्टरबाट एक लाख ५७ हजार पाँच रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार एक सय ४१ वटा अटोबाट एक लाख नौ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । जिल्लामा एक वर्षको अवधिमा कुल दुई हजार तीन सय ४५ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update