रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ ले आफ्नै नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । बिहिबार भवन उद्घाटन संगै वडा कार्यालयले नव निर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको हो । सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर वडा कार्यालयको सेवा नयाँ भवनबाट सुरु गरेको वडा अध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
नव निर्मित वडा कार्यालयको भवन गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले रिबन काटेर उद्घाट्न गर्नुभयो । भवन १ तलाको रहेको छ । जसमा ४ वटा कोठा, एउटा सभाहल, बाथरुम र शौचालय रहेका छन् । आर्थिक वर्ष २०७८÷०७९ बाट वडा कार्यालय भवन निर्माणको काम सुरु भएकामा काम सम्पन्न साउन पहिलो साता भएको हो ।
वडा कार्यालय भवन निर्माण गर्दा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आएको दुई पटकको गरेर २९ लाख ३५ हजार र गाउँपालिको १२ लाख गरेर ४१ लाख ३५ बजेट खर्च भएको वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो । आफ्नै भवन भएसंगै सेवा प्रवाहमा सहज हुनुका साथै अब वडाबाट पशु तथा कृषि उपकेन्द्र थप गरेर सेवा प्रदान गर्ने वडा कार्यालयले योजना बनाएको छ ।
भवन बनेपछि सेवा प्रवाह गर्न सहज हुने भएकाले वडावासीहरुको समस्यालाई केन्द्रमा राखेर काम गरिने वडा अध्यक्ष घर्तीले बताउनुभयो । ६ नम्बर वडा कार्यालयले पहिलो ५ वर्ष भाडाको घरबाट सेवा प्रवाह गर्दा दोस्रो निर्वाचन भएपछिको एक वर्ष वडाकै आधारभुत स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह गरेको थियो ।
त्यस्तै वडाको भवन निर्माणका लागि निःशुल्क रुपमा जग्गा प्रदान गर्ने स्थानीय डिलाराम पुन, लाले पुन र भद्रबहादुर पुनलाई पडाले प्रमाण–पत्र सहित दोसल्लाले सम्मान गरको छ ।