Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा रोजगारीका लागि गत वर्ष २२ करोड खर्च, तर वेरोजगारीको समस्या भने उस्तै  

रुकुम पश्चिममा १ वर्षमा रोजगारी सृजनाका लागि भन्दै झण्डै २२ करोड रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तहहरुमा २१ करोड ९१ लाख १६ हजार १७ रुपैयाँ खर्च भएको हो । जसबाट २ हजार ९ सय ८९ जना युवाहरुले रोजगारी पाएको स्थानीय तहहरुको तथ्यांकले देखाउँछ ।

सवैभन्दा वढी रोजगारी रोजगारी मुसिकोट नगरपालिकामा सृजना भएको देखिएको छ । यहाँ ६ सय ५ जनाले रोजगार पाएको नगरपालिका बताउँछ । सबैभन्दा कम सानीभेरी गाउँपालिकामा ३ सय ४६ जनाले रोजगारी प्राप्त गरेको गाउँपालिकाको तथ्यांक छ । त्यस्तै चौरजहारी नगरपालिकामा ५ सय ३७, त्रिवेणी गाउँपालिकामा ५ सय १६, आठबीसकोट नगरपालिकामा ५ सय ७७ र बाँफिकोट गाउँपालिकामा ४ सय ८ जनाले रोजगार पाएको देखिन्छ ।

चौरजहारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ३ सय १७ जनाले १ सय दिन बराबरको रोजगारी पाउँदा मुख्यमन्त्री रोजगार कार्यक्रममा २ सय २० जना औसतमा ६० दिन जोडिएको नगर रोजगार सहायक खड्क ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने युवाले प्रति दिन ६ सय ३२ रुपैयाँका दरले ज्याला पाउँदा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दक्ष कामदारले १ हजार ५० र अदक्ष कामदारले ७ सय ९० रुपैयाँका दरले ज्याला पाएका छन् 

त्यहाँ प्रधानमन्त्री रोजगार कार्यकम तर्फ ३ करोड १२ लाख ८ हजार र मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फ २ करोड १० लाख गरेर जम्मा ५ करोड २२ लाख ८ हजार रकम खर्च भएको रोजगार सहायक ढकालले बताउनुभयो । 

त्यस्तै आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका विभिन्न ३८ वटा योजनाहरुमा ३ सय ३२ जना युवाहरुले रोजगारी प्राप्त गर्दा मुख्यमन्त्री रोजगार कार्यक्रमका १४ वटा योजनामा २ सय ४५ जना युवाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने युवाले ५ सय ७७ रुपैयाँका दरले रकम प्राप्त गर्दा मुख्यमन्त्री रोजगार कार्मक्रममा प्रतिव्यक्ति दैनिक ७ सय ९० रुपैयाँ ज्याला दिइएको छ । आठबीसकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रममा १ करोड ९३ लाख ७४ हजार ५ सय ६ रुपैयाँ र मुख्मन्त्री रोजगार कार्यक्रममा २ करोड १० लाख गरेर कुल ४ करोड ३ लाख ७४ हजार ५ सय ६ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । 

यता मुसिकोट नगरपाकिकामा ६ सय ५ जनाले रोजगार पाएको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा औसतमा १ सय दिन र मुख्यमन्त्री रोजगार कार्यक्रममा ७५ दिन बराबरको रोजगारी सृजना भएको नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तवले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने युवाले प्रति दिन ६ सय ३२ रुपैयाँ र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने दक्ष कामदारले १ हजार ५० र अदक्ष कामदारले ७ सय ९० रपैयाँ ज्याला पाएका छन् । नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रममा १ करोड ८९ लाख र मुख्यमन्त्री रोजगार कार्यक्रममा २ करोड १० गरेर जम्मा ३ करोड ९९ लाख रकम खर्च भएको संयोजक श्रीवास्तवले बताउनुभयो । 

सानीभेरी गाउँपालिकाले पनि मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रममा शत प्रतिशत खर्च गरेको देखिन्छ । गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका विभिन्न ३३ वटा योजनाहरुमा १ सय ८६ र मुख्यमन्त्री रोजगार कार्यक्रमका ११ वटा योजनाबाट १ सय ६० जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा १ सय दिन र मुख्यमन्त्री रोजगार कार्यक्रममा औसतमा ७० दिनको रोजगारी सृजना भएको थियो । दैनिक ज्याला भने दुवै कार्यक्रमको समान ६ सय ३२ रपैयाँ कायम गरिएको थियो । त्यहाँ  प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड १३ लाख १५ हजार र मुख्यमन्त्री रोजगार कार्यक्रमको १ करोड ६५ लाख गरेर कुल २ करोड ७८ लाख १५ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । 

त्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका २० वटा विकास निर्माणका योजना संचालन भएका छन् । जसमा १ सय ७१ जनाले रोजगारी पाउँदा मुख्यमन्त्री रोजगार कार्यक्रमका १० वटा विकास निर्माणका योजनाहरुबाट ३ सय ४५ जना रोजगार बनेको त्रिवेणी गाउँपालिकाका रोजगार संंयोजक सागर सापकोटाको भनाई छ । उहाँ भन्नुहुन्छ प्रधानमन्त्री रोजगार कार्याक्रममा काम गर्नेले १ सय दिन र मुख्यमन्त्री रोजगार कार्यक्रममा ६५ दिन बराबरको काम पाएका छन् । गोरेटो बाटो निर्माण, विद्यालय भवन निर्माण, सिँँचाई कुलो निर्माण लगायतका काममा प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड ८ लाख ७ हजार २ सय र मुख्यमन्त्री रोजगार कार्यक्रमको १ करोड ५० लाख गरेर जम्मा २ करोड ५८ लाख ७ हजार २ सय रुपैयाँ खर्च भएको रोजगार संयोजक सापकोटाले बताउनुभयो । 

उता बाँफिकोट गाउँपालिकाले रोजगारीका लागि कुल ४ करोड २० लाख ७ हजार ९ सय ५१ रुपैया खर्च गरेको छ । जसमा प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड ९० लाख र मुख्यमन्त्री रोजगार कार्यक्रमको २ करोड ३० लाख ७ हजार ९ सय ५१ रुपैयाँ रहेको छ । यसबाट गाउँपालिकामा ४ सय ८ जनालाई रोजगारी मिलेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका विभिन्न २६ योजनाहरुमा २ सय ३२ र मुख्यमन्त्री रोजगार कार्यक्रमका १२ वटा योजनामा १ सय  ७६ जना युवाहरु जोडिएको गाउँपालिका रोजगार संयोजक समिर गौतम बताउनुहुन्छ । काम गरेकाहरुले समान ६ सय ३२ रुपैयाँका दरले ज्याला पाएको उहाँको भनाई छ । 

जिल्ला भरमा प्रधानमन्त्री रोजगार अन्तर्गत १० करोड ५५ लाख ९२ हजार १७ रकम खर्च भएको छ । भने मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ११ करोड ३५ लाख २४ हजार गरेर कुल २१ करोड ९१ लाख १६ हजार १७ रुपैयाँ खर्च भएको देखिन्छ ।

तर वेरोजगारीको समस्या भने उस्तै 
जिल्लामा वर्षेनी रोजगारी सृजनाका लागि भन्दै करोडौं रकम खर्च भएपनि वेरोजगारीको समस्या भने उस्तै रहेको छ । क्षणिक रुपमा रोजगारी सृजना भएपनि त्यसले दिर्घकालिन रुपमा कुनै प्रभाव पार्ने देखिदैन् । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम कनिका छरेजस्तो मात्र भएको छ । एकातिर रोजगारीका लागि भन्दै करोडौं रकम खर्च भइरहेको छ भने अर्को तिर वेरोजगारीको समस्या विकराल बन्दै गइरहेको छ । प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमले साना तिना काममा पनि सरकारकै मुख ताक्न बाध्य बनाएको भन्दै बरु यि कार्यक्रमको आलोचना समेत हुने गरेका छन् । यि कार्यक्रमबाट नत रोजगारी पाएकाले रोजगारीको महशुस गर्न सकेका छन् न त दिगो विकास हुन सकेको छ । रोजगारीका लागि भन्दै ठूलो रकम खर्च भइरहेपनि कामको लागि वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्नुको साटो अझ बढ्दो क्रममा देखिएको छ ।   

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update