रुकुम पश्चिम खाद्यान्नमा आत्मनिर्भर रहेको छ । जिल्लाका लागि आवश्यक खाद्यान्न जिल्लामै उत्पादन भइरहेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्न जिल्लावासीलाई पुगेर उब्रिने समेत गरेको छ । वितेको वर्षको खाद्यान्नको तथ्यांक हेर्ने हो भने जिल्लामा उत्पादन भएको खाद्यान्न जिल्लावासीलाई पुगेर पनि २ हजार ५ सय १५ मेट्रिक टन बचत भएको छ ।
कृषि विकास कार्यालयको तथ्यांक अनुसार गत वर्ष जिल्लामा कुल ६४ हजार ८२ दशमलव ८ मेट्रिक टन खाद्यान्न उत्पादन भएको देखिएको छ । यसमध्ये बीउमा खर्च, कुटानी पिसानी, रोग, किरा, पशु आहारा तथा पेयपदार्थ र अन्यमा क्षेति भएर कुल ३६ हजार ४ सय ८५ दशमलव ७१ मेट्रिकटन खानयोग्य खाद्यान्न रहेको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
क्षेति भएर बाँकी रहेको कुल खाद्यान्न जिल्लावासीलाई पुगेर पनि बचत भएको कृषि विकास कार्यालयका सूचना अधिकारी प्राविधिक सहायक महेश बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा एक व्यक्तिलाई वर्ष भरीका लागि २ सय १ किलो खाद्यान्न आवश्यक रहेकोमा त्यस अनुसार खाद्यान्न उत्पादन भइरहेको छ ।
२०७८ को जनगणना अनुसार रुकुम पश्चिमको कुल जनसंख्या १ लाख ६६ हजार ७ सय ४० रहेको छ । हालको अनुमानित जनसंख्या १ लाख ६९ हजार ८ मान्दा जिल्लावासीलाई आवश्यकता अनुसार खाद्यान्न पुगेर पनि २ हजार ५ सय १५ मेट्रिक टन खाद्यान्न बचत भएको सूचना अधिकारी बिष्टले बताउनुभयो ।
जिल्ला वर्षेनी खाद्यान्नमा आत्मनिर्भर रहेपनि चामलको निर्भरता भने तोड्न आवश्यक रहेको कार्यालयको भनाई छ । ‘जिल्ला भरमा उत्पादन हुने सबै खाद्यान्नलाई आधार मान्दा रुकुम पश्चिम खाद्यान्नमा आत्मनिर्भर छ, कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले भन्नुभयो–तर चामलको निर्भरता घटाउन आवश्यक छ, हाम्रो खाने बाणिमा सुधार हुन आवश्यक छ ।’
भातमा मात्र बढी निर्भर हुने अवस्थामा सुधार भयो भने रुकुम पश्चिममा जिल्ला बाहिरबाट हुने आयात रोकिने अवस्था आएमा पनि जिल्लाकै उत्पादनले धान्ने अवस्था रहेको उहाँको भनाई छ । जिल्लामा चामलको निर्भरता भने ठूलो रहेको छ । हाल जिल्लामा २७ हजार ३ सय ३० मेट्रिक टन चामल अपुग देखिन्छ । यो अभावलाई मकै, गौ, जौं, कोदो लगायतले पुर्ति गर्नसक्ने हो भने खाद्यान्नको अभाव नहुने केसी बताउनुहुन्छ ।
कृषि विकास कार्यालयको खाद्यान्न उत्पादन तथ्यांक हेर्दा जिल्लामा खाद्यान्न उत्पादनका हिशावले पहिलो नम्बरमा मकै, त्यसपछि धान, त्यसपछि गहुँ र त्यसपछि क्रमशः कोदो, जौं र फापर पर्दछन् । जिल्लामा कुल खेतीयोग्य जमिन २२ हजार ४ सय ५९ दशमलव ५ हेक्टर रहेको छ । जसमा सबैभन्दा बढी गहुँ त्यसपछि क्रमशः मकै, धान, कोदो, जौं र फापर खेती हुने जमिन छ ।