Kakhara सबैको खबर सम्पूर्ण खबर
पोखरामा राष्ट्रपति रनिङ शिल्ड
उद्घाटन समाराेहमा सहभागि विद्यार्थीहरू ।

रुकुम पूर्वको सिस्ने गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । गाउँपालिकाले आयोजना गरेको शिल्ड आज वडा नम्बर ३ पोखरामा रहेको जनता माध्यामिक बिद्यालयमा एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य कमला रोकाले उदघाटन गर्नु भयो । शिल्डमा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यामिक बिद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको छ । गाउँपालिकामा सामुदायिक र संस्थागत गरी १० वटा मध्यामिक बिद्यालय रहेकोमा हिमशिखा बोर्डिङ स्कुल सहभागी भएको छैन । 

शिल्डमा छात्रा तथा छात्र तर्फको भलिबल प्रतियोगिता, कबड्डी तथा एथ्लेटिक्स तर्फका विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । फरक फरक स्पर्धामा छात्र र छात्रा तर्फका दौडहरु पनि हुने छन् । १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौडमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै रिले डौड पनि संचालन हुने छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ गाउँपालिकाले विद्यालय स्तरमा खेल विकासका लागि रनिङ शिल्ड आयोजना गरेको जनाएको छ । 

२०७५ सालमा पहिलो रनिङ शिल्ड वडा नम्बर ६ मा रहेको त्रिभुवन जनता माविमा भएको थियो । उक्त रनिङ शिल्डको उपाधी रुक्मिणी माविले हात पारेको थियो । आज भएको उद्घाटन कार्यक्रममा सो विद्यालयलाई शिल्ड हस्तान्तरण पनि गरिएको छ । गाउँपालिका अध्यक्ष कुमारी बरालले विद्यालतका प्रधानाद्यापक कृष्ण गौतमलाई शिल्ड र कप प्रदान गर्नु भएको हो ।

शिल्ड उद्घाटन गर्दै प्रमुख अतिथि रोकाले जति धेरै खेलाडिहरु उत्पादन हुन्छन् त्यति नै राष्ट्रको गौरव बढ्ने बताउनुभएको छ । विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन हुनेपर्ने उहाँको भनाई थियो । यसका लागि स्थानीय तह, विद्यालय सहित सरोकारवालाहरुले भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै उहाँले युवाहरु शारीरिक र मानसिक रुपमा स्वस्थ रहन आवश्यक रहेकोमा पनि उहाँले बताउनुभएको थियो । खेलमा इमान्दारीता र अनुशासनको ठुलो महत्व हुने र यो नभए कुशल खेलाडि उत्पादन हुन नसक्ने उहाँले बताउनुभयो । 

साथै उहाँले देशमा विकास भएको पछिल्लो राजनितिक घटना क्रमलाई सुश्म ढंगबाट नियालिरहेको पनि बताउनुभएको थियो । सम्बोधनकै क्रममा रुकुम पूर्वमा रहेका राष्ट्रिय गौरवका आयोजना प्रति आफु गम्भिर रहेको र यसका लागि विभिन्न निकायमा पहल गरिरहेको समेत स्पस्ट पार्नुभएको थियो । 
 

 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update