Kakhara सबैको खबर सम्पूर्ण खबर
कविता: कालोकोट कि हत्कडी कामरेड

एक दृष्य
अदालत अगाडि 
केही बन्दी सहित
प्रहरी भ्यान 
टक अडियो,
मैलो रातो टिसर्ट 
हातमा हत्कडि 
उमेर पचास पुग्नै आँटेको,
कता चिने जस्तो 
कता देखे जस्तो 
मधुरो सम्झनामा 
टकिलो तस्बिर 
मेरै अगाडि !

सायद 
आज पेसी पो हो कि 
अपराध के थियो 
गल्ति कस्को थियो 
थाहा छैन 
तर
मलिन अनुहार 
कदम पुरै थकित !!
कालो कोट पखुरामा 
कालै झोला 
फ्रेन्च कट दार्ही 
एक सुकोमल चेहेरा 
अदालत प्रवेशको 
दृष्य अर्को, 

सायद 
आज उनकाे बहस पो छ कि 
थाहा छैन 
कसैलाई निर्दोष साबित गर्ने हो कि
कसैलाई दाेषी करार ? !
म जानकार छु 
त्यो रातो टिसर्ट 
यो कालोकोट 
सम्बन्ध एक अर्का को 
मोर्चा एउटै 
आस्था एउटै 
बिचार  एउटै 
पार्टीको निर्देशनमा 
मर्न तयार संगै ...
खै कहाँ नेर टुट्यो 
सम्बन्धको त्यान्द्रो 
बिचार  आस्थाको डोरी 
अदालत एउटै 
प्रबेशद्वार एउटै 

तर 
हत्कडिमा एक कामरेड 
कालोकोट्मा अर्का !     
एक टकले 
हेरिरहे मेरा आँखा 
यि दुई दृष्य ..
शब्द छैन म सँग 
को सही को गलत 
हिजो बुर्जुवा भन्दै 
किताब च्यात्ने कि 
दफा दफा समाएर 
बहस गर्ने काम्रेड सहि ! ?

साच्ची,
हत्कडि सहित भ्यान 
पुन:चढ्दै गर्दा ,
कालाकोट तिर 
नजर लगाएका 
ति रातो टिसर्टले 
सोचे होलान के ?
सोधौं कस्लाई ?
सोधी हाले 
उत्तर आउँला के ?
जिते संसार हारे हत्कडि 
मुक्ति या मृत्‍यु 
भन्दै संगै हिडेका गोरेटोहरु 
भोको पेट हिडेका 
कैयन रातहरु 
खाली खुट्टा 
तरेका सयौ जंगारहरू..
जवाफ को सँग छ ?
खै कस्ले जित्यो 
कस्ले हार्यो संसार कामरेड ? !

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update