रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ गरेनामा अविरल वर्षाका कारण एक घरमा पहिरोले पुर्ण रुपमा क्षति पुर्याएको छ । स्थानीय पहलसिंह खड्काको २ तले घरमा शुक्रबार राती माथिबाट खसेको पहिरोले पूर्णरुपमा क्षति पुर्याएको हो । गत फागुन महिनामा निर्माण गरिएको घर ६ महिना नपुग्दै पहिरोले पुर्ण रुपमा क्षति गरेको वडाध्यक्ष नन्नराम खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोले घरभित्र रहेका समान, अन्न, लत्ताकपडा पुरिएका छन् । घरमा पूर्ण रुपमा क्षति पुगेपछि पहलसिंहको ५ जनाको परिबार आफन्तको घरमा शरण लिएर बसिरहेको छ । सहयोगको लागि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा अपिल गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।
जनता आवास कार्यक्रम मार्फत पहल गरेर यसै आर्थिक वर्षमा घर निर्माण गरिदिने वडाले योजना बनाएको उहाँको भनाई छ । पहलसिंहको घर गत मसिंरमा विद्युत लाइन सट हुँदा लागलागी भएर पूर्ण रुपमा ध्वस्त भएको थियो । त्यस पश्चात स्थानीय सरकार, स्थानीय र बैदेशिक रोजगारीमा गएका युवाहरुको सहयोगमा घर निर्माण गरिएको थियो । निर्माण भएको ६ महिना नपुग्दै घरमा पहिरोले क्षेति पुर्याएपछि खड्काको परिवार मर्माहत भएको छ ।