Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिरोले त्रिवेणीका विभिन्न ठाउँमा सडक अबरुद्ध, दुई वटा पानी घट्ट पुरिए
पहिराे झरेर अवरुद्ध भएको सडक ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटा देखि चौरजहारी नगरपालिका जोड्ने ग्रामिण कृषि सडक खण्ड अन्तर्गत बाँठाकोट–मुरु सडक खण्ड पहिरोले अवरुद्ध भएको छब । शुक्रबार देखि भएको लगातारको बर्षाका कारण बाँठाकोट पार्थेबाटाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सवारी साधन तथा मानिसहरुलाई आवतजावत गर्न नै समस्या भएको त्रिवेणी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष भद्रबहादुर सिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक मुनि रहेका पाँच र सडक माथिका दुई घर पहिरोको जोखिममा रहेका छन् । 

वडाअध्यक्ष सिर्पाली, प्रहरी चौकी झुल्नेटाका इन्चार्ज बिर्खबहादुर बिक, त्रिवेणी गाउँपालिकाका विपत् फोकल पर्सन खिमबहादुर ओली, ६ नम्बर वडा कार्यालयका प्राविधिक महेन्द्र बिक लगायतको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । 

गाउँपालिकाको पहलमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी चौकी झुल्नेटाका इन्चार्ज बिर्खबहादुर बिकले जानकारी दिनुभयो । पटक पटक पहिरो झरिरहेको र पानी परिरहेकोले तुरुन्तै जेसिबि लगाएर सडक बाटो बनाउन थाले पनि फेरि पुरिने भएकोले मौसम अनुकुल हुने बित्तिकै बाटो खुलाउने उहाँले बताउनुभयो । 

त्यस्तै शनिबार राति आएको पहिरोले त्रिवेणी १० मान्टुराका सपबिर ओलीको दुई वटा पानी घट्ट, पिस्न लगिएको स्थानीयको करिब दुई सय केजी अन्न पनि पुरिनुका साथै ओलीकै मान्टुरामा रहेको चार रोपनी खेतमा लगाएको धानबाली समेत पुरिएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update