रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जारी निःशुल्क आँखा अप्रेशन शिविरमा २ दिनमा डेढ सयको अप्रेशन भएको छ । बुधबारबाट सुरु भएको शिविरमा बिहिबारसम्म १ सय ६० जनाको आँखाको मोतिबिन्दुको अप्रेशन भएको हो । बुधबार पहिलो दिन २ सय ४१ जनाले सेवा लिएकामा ६५ जनाको आँखाको अप्रेशन गरिएको थियो । बिहिबार दोस्रो दिन १ सय ४५ जनाले सेवा लिएकामा ९५ जनाको अप्रेशन भएको नगर स्वास्थ्य संयोजक मणिराज शाहले जानकारी दिनुभयो ।
शिविरमा मोतिबिन्दुको समस्या भएका आँखाका बिरामिहरुको अप्रेशन हुनुका साथै आँखा चेकजाँच तथा उपचार पनि भइरहेको छ । शिविर वडा नं. ९ स्थित नगर अस्पतालमा चलिरहेको छ । नेपाल रेडक्रस सोसाईटी र सुर्खेत आँखा अस्पतालको प्राविधक सहयोगमा नगरपालिकाले शिविर आयोजना गरेको हो । सुरुमा तीन दिनका लागि शिविर आयोजना गरिएको भएपनि बिरामिको चाप बढी भएका कारण लम्बिन सक्ने बताईएको छ ।
कोहि पनि बिरामि नफर्किने गरी शिविर संचालन हुने नगरपालिकाको भनाई छ । शिविरमा करिब ३ सय बढीको मोतिबिन्दुको अप्रेशन हुने अनुमान गरिएको छ । शिविरमा सुर्खेत आँखा अस्पतालबाट डा. मनिष खतिवाडा सहित १२ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि खटिएका छन् ।