Kakhara सबैको खबर सम्पूर्ण खबर
विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई रुकुम पश्चिमबाट पनि कारबाहीको माग 
कारबाहीकाे माग गर्दै भएकाे विराेध प्रदर्शन ।

नेपाल मगर संघ र नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् रुकुम पश्चिमले तामाङ र मगर समुदायलाई अपराधिकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गरेका छन् । केन्द्रीय कार्यक्रम अनुसार आज जिल्लाबाट पनि पाण्डेलाई कारबाही गर्न माग गरिएको हो । 

आज जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउदै नेपाल मगर संघ र नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद् रुकुम पश्चिमले विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कानून बमोजिम हदैसम्मको सजायको माग गरेका हुन् । 

त्यस्तै पाण्डेलाई कारबाहीको माग गर्न शान्तिपूर्ण आन्दोलनमा उत्रिएका अभियान्ताहरुलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने जिल्ला प्रहरी परिषर टेकु काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की सहित संलग्न सबै प्रहरीलाई कारबाहीको लागि पनि विज्ञप्ती मार्फत माग गरिएको छ । 

साउन १७ गते आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका सबै अभियान्ताहरुलाई उपचार खर्च सहित उचित क्षतिपुर्ति दिन समेत माग गरिएको छ । अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा तामाङ र मगर जातिमा दाजु बहिनी बिचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुने अभिव्यक्ति दिएको विज्ञप्तीमा उल्लेख छ । 

साथै त्यस्तो मानिस भैंसी र बाख्रा भन्दा पनि तुच्छ हुन्छ भनि सिंगो तामाङ र मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले व्याख्या गरेको विज्ञप्तीमा जनाइएको छ । नेपाल मगर संघका जिल्ला कार्यबाहक अध्यक्ष टेकबहादुर पुनमगर र नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद्का अध्यक्ष मनबीर घर्तिमगरद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update