रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १ सल्लेमा भएकाे घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । सल्लेकी ५२ वर्षिया हस्तकलीकाे हत्या भएकाे घटनामा सल्लेकै २३ वर्षिया सिर्जना बुढा बाेहरा र मुसिकाेट नगरपालिका वडा नम्बर ५ टटेलाकी ३० वर्षिया शाेभाकुमारी सुनार साेनीलाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेकाे छ ।
कर्णाली प्रदेश केनाइन शाखा काेहलपुर बाँकेबाट तालिमप्राप्त कुकुर, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट विशेष प्रहरी टाेली झिकाई जिल्ला प्रहरी कार्यालयकाे संयुक्त टाेलीले गरेकाे अनुसन्धानबाट घटनामा संलग्न सल्लेकी सृजनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयाे ।
उनले चाेरी गरि लिएकाे भिभाे कम्पनीकाे माेबाइल, गालेर स्वरूप परिवर्तन गरेकाे अवस्थामा रहेकाे सुनकाे सिक्रि १ थान, गालेर स्वरूप परिवर्तन गरेकाे सुनकाे तिलहरी १ थान, सुनका कानबाली १ जाेडा र सुनकाे चन्द्रमा १ थान समेत बरामद गरिएकाे उहाँले बताउनुभयाे । त्यस्तै घटनास्थलबाट रगतजस्ताे देखिने राताे पदार्थ लागेकाे लाम्चाे, चेप्टाे ढुंगा लाेराे पनि बरामद गरिएकाे उहाँकाे भनाई छ ।
त्यस्तै मृतकबाट चाेरी गरिएका सुन खरिद गरेकाे आराेपमा खलंगामा सुन चाँदी व्यवसाय गर्दै आएकी शाेभाकुमारी सुनार साेनीलाई पक्राउ गरिएकाे डिएसपी भट्टराईले बताउनुभयाे । उहाँका अनुसार गहनाका लागि हत्या भएकाे हाे । घटना आर्थिक प्रलाेभनकै कारण भएकाे देखिएकाे छ उहाँले भन्नुभयाे । दुवैजनालाई कर्तव्य ज्यान एवं डाँका तथा आपराधिक उपद्रव मुद्घा दर्ता गरि जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरेर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।