पार्टीको आन्तरिक विशेष अभियान अन्तर्गत नेपाली कांग्रेस रुकुम पश्चिमले जिल्लाका ६ वटै स्थानीय तहमा कार्यक्रम गर्ने भएको छ । २० गतेदेखि सुरु भएको देशव्यापी अभियान अन्तर्गत जिल्लामा पनि विभिन्न कार्यक्रम भइरहेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ । कांग्रेस रुकुम पश्चिमले आज जिल्ला पार्टी कार्यालय खलंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाका ६ वटै स्थानीय तहमा आन्तरिक विशेष अभियान अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिएको हो ।
कांग्रेसका अनुसार साउन २३ गते आज मुसिकोट नगरपालिका, साउन २४ गते चौरजहारी नगरपालिका, २५ गते त्रिवेणी गाउँपालिका, २६ गते बाँफिकोट गाउँपालिका, २७ गते सानीभेरी गाउँपालिका र २८ गते आठबीसकोट नगरपालिकामा अभियान अन्तर्गत कार्यक्रम हुने छ । कार्यकर्ता भेला, सेवा दल गठन, संगठन सुदृढिकरण, विस्तार तथा आन्तरिक समस्याका विषयमा छलफल लगायतका कार्यक्रम हुने नेपाली कांग्रेसका जिल्ला सह सचिव यज्ञ बिष्टले जानकारी दिनुभयो । साउन २० गतेबाट सुरु भएको देशव्यापी अभियान साउन ३० गतेसम्म संचालन हुने छ । पार्टी सुदृढिकरण र संगठन विस्तारका लागि अभियान थालिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । अभियानका लागि कांग्रेसले देशभरीमा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ ।
रुकुम पश्चिममा बुढालाई पठाइएको छ । कांग्रेसलाई बलियो बनाउन र पार्टी सदस्य थप गर्न अभियान संचालन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरे अनुसार अभियान चलिरहेको केन्द्रीय सदस्य बुढाको भनाई छ । काठमाडौंमा साउन २ गते देखि १० गतेसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले आन्तरिक विशेष अभियान संचालन गर्ने निर्णय गरेको थियो । अभियान मार्फत कांग्रेस जनताको विचमा पुगेको नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपालजि जंग शाहले बताउनुभयो । यो अभियानबाट पार्टीका विभिन्न संघ संगठनले पूर्णता समेत पाउने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकास ओलीले अभियान अन्तर्गत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुसंग छलफल गर्ने कार्यक्रम समेत तय गरिएको बताउनुभयो । स्थानीय सरकार संचालन, पार्टीको अभियान तथा जनजिविकासंग जोडिएका विषयमा जनप्रतिनिधिहरुसंग छलफलको कार्यक्रम राखिएको उहाँको भनाई छ । साथै अभियान मार्फत सेवा दल गठन गरिने छ । विभिन्न सेवामुलक काममा खटिने गरी तल्लो तहसम्म सेवा दल गठन गर्न लागिएको बताइएको छ ।