Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्ले घटनाः चोरीका गहना बिक्रि गरेर आएको पैसा खोज्दै प्रहरी 
हत्या गरि मृतककाे घरबाट चाेरी गरेर बिक्रि गरिएका गहना ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सल्ले घटनाका बारेमा जानकारी दिन सोमबार बेलुकी पत्रकार सम्मेलनको आयोजना गर्यो । मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेकी ५२ वर्षिया हस्तकली बुढाथोकी शुक्रबार राती बाहिरबाट ताल्चा लगाएको अवस्थामा आफ्नै घरको कोठामा मृत भेटिएको घटनामा संलग्न रहेको भन्दै २ जना महिलालाई सार्वजनिक गर्यो । जसमध्ये सल्लेकै २३ वर्षिया सिर्जना बुढा बोहरालाई मुख्य आरोपितका रुपमा चिनाइयो भने मुसिकोट नगरपालिका वडा नम्बर ५ टटेलाकी ३० वर्षिया शोभाकुमारी सुनार सोनीलाई प्रमाण नष्ट गर्न सहयोग गरेको भन्दै पक्राउ गरिएको जानकारी गराइयो । 

सिर्जनासंगै मृतकको भिभो कम्पनीको मोबाइल, गालेर स्वरूप परिवर्तन गरेको अवस्थामा रहेको सुनको सिक्रि १ थान, गालेर स्वरूप परिवर्तन गरेको सुनको तिलहरी १ थान, सुनका कानबाली १ जोडा र सुनको चन्द्रमा १ थान बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराइले जानकारी गराउनुभयो । घटनाको मुख्य कारण नै गहना चोरी गर्नु रहेको डिएसपी भट्टराईको भनाई थियो । उहाँका अनुसार सिर्जनाले बिहिबार राती हस्तकलीको हत्या गरी सुन तथा मोबाइल चोरी गरी लिएको र बिहिबार बिहानै खलंगा आई बिक्रि गरेकि थिइन । उक्त सुन शोभाले खरिद गरेको पाइएको भट्टराईले बताउनुभयो । 

शोभाबाट सृजनाले १ लाख ८४ हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । तर प्रहरीले पत्रकार सम्मेलनका क्रममा उक्त पैसा सार्वजनिक गरेन र पैसाका बारेमा खासै जानकारी समेत दिएन् । प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले पैसाको खोजी भइरहेको बताउनुभयो । ‘अनुसन्धानका क्रममा १ लाख ८४ हजारमा सुन किन बेच भएको खुल्न आएको छ, तर अहिलेसम्म पैसा भेटिएको छैन्, उहाँले भन्नुभयो–यसबारेमा सिर्जनालाई सोध्दा आफुले उक्त पैसा अरु कसैलाई दिइसकेको बताएको तर कसलाई दिएको भनेर भनेकी छैनन् ।’

अनुसन्धानकै क्रममा रहेकोले अहिले नै धेरै भन्ने अवस्था नरहेको उहाँको भनाई छ । कसुर गरी ल्याएको सुन खरिद गरेको र प्रमाण नष्ट गर्न उक्त सुन गालेकोले शोभालाई पनि पक्राउ गरी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update