Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीबाट पहिलो पटक लाइसेन्स जारी

रुकुम पश्चिमको चौरजहारीबाट पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले जिल्लाबाट पहिलो पटक लाइसेन्स जारी गरेको हो । सोमबार हिजो मोटरसाइकल र स्कुटर तथा मंगलबार आज गाडीको लाइसेन्स जारी भएको कार्यालयले जनाएको छ । 

हिजो र आज वर्ग ए मोटरसाइकल, वर्ग के स्कुटर, वर्ग बि कार जिप र भ्यानको लाइसेन्सको प्रयोगात्मक भएको कार्यालय प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार मोटरसाइकल र स्कुटर तथा मंगलबार कार, जिप र भ्यानको ट्रायल भएको हो । 

सबै प्रक्रिया पुरा गरेर जिल्लामै पहिलो पटक ट्रायल सुरु गरिएको कार्यालय प्रमुख चपाईले बताउनुभयो । मोटरसाइकल तर्फ पहिलो सेवाग्राहीका रुपमा चौरजहारी नगरपालिका १ का उत्तर आचार्यले ट्रायल पास गरी लाइसेन्स प्राप्त गरेको उहाँको भनाई छ । त्यस्तै गाडीको लाइसेन्सका लागि मंगलबार आज ट्रायल भएको छ । 

जसमा पहिलो सेवाग्राहीका रुपमा सानीभेरी गाउँपालिका १ का कबिन्द्र पुनले लाइसेन्स प्राप्त गरेको कार्यालयले जनाएको छ । साउन १८ गते संचालन गरिएको लिखित परीक्षामा पास भएकाहरुलाई हिजो र आज ट्रायलमा सहभागी बनाइएको थियो ।

कार्यालयका अनुसार कुल ३ सय १५ जना परीक्षार्थी मध्येमा ८१ जना पास भएका छन् । मोटसाइकलमा ७१ जना, स्कुटरमा ४ जना र गाडीमा ६ जना गरी ८१ जना उत्तिर्ण भएको कार्यालय प्रमुख चपाईको भनाई छ । १ सय ९८ जना अनुत्तिर्ण भएका छन् भने ३६ जना ट्रायलमा अनुपस्थित भए ।

अब नियमित रुपमा सवारी चालक अनुमति पत्र लाइसेन्स जारी हुने कार्यालय प्रमुख चपाईको भनाई छ । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतका कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले सावारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता, नामसारी, कर असुल, ब्लुबुक नविकरण, लाइसेन्स नविकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update