रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले वडाको सेवा टोल टोलमै पुगेर प्रवाह गरेको छ । वडावासीको सहजताका लागि वडा कार्यालयले वडाका सबै टोल टोलमा पुगेर एकीकृत घुम्ति सेवा शिविर मार्फत सेवा प्रवाह गरेको हो । ४ दिन लगाएर वडा कार्यालयले टोल टोलमा सेवा दिएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार साउन २२ गते गल्मपाटी टोलबाट सुरु भएको शिविर २५ गते खड्का टोलमा पुगेर सम्पन्न भएको हो ।
२३ गते कामीबुढा टोलको डेल्डाडा र २४ गते नमुना बस्तीमा शिविर संचालन भएको थियो । शिविरबाट वडा कार्यालयबाट प्रवाह हुने सबै खालका सेवा, आधारभूत स्वास्थ्य सेवा तथा पशु उपचार सेवा दिइएको वडाध्यक्ष खड्काको भनाई छ । शिविरबाट ४ दिनमा वडा कार्यालय प्रशासनिक सेवा तर्फ मालपोत सेवा १ सय ७ जनाले पाएका छन् भने ५० जनाको सामाजिक सुरक्षा भात्ता नविकरण गरिएको छ ।
स्वास्थ्य सेवा तर्फ महिला ८३ र पुरुष ७२ गरी १ सय ५५ जनाले सेवा पाएको वडाध्यक्ष खड्काको भनाई छ । त्यस्तै पशु सेवा तर्फ भैंसी १ सय ६, गाइ गोरु १ सय ५६, भेडा बाख्रा ८ सय ७७, कुखुरा १५ सय ९३ वटालाई उपचार गरिएको छ भने २५ वटा कुकुर बिरालोलाइ रेविज विरुद्धको खोप दिएको बताइएको छ । यसका सथौ लम्पिस्किन संक्रमित पशुका साथै अन्य पशुलाई जुकाको औसधि, सिगान बग्ने, पखला लाग्ने, पेट फुल्ने, खाना रुची नहुने, ज्वरो रोकथाम लगायतका ९ प्रकारका औषधी वितरण गरिएको छ ।
मान्छेलाई पनि ज्वरो, पखला, टाउको दुख्ने, ग्यास्ट्रिक, प्रेसर जाँचका साथै औषधि समेत वितरण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । शिबिरमा वडा सचिव लोकबहादुर केसी, वडा सहायक रिता खड्का, स्वास्थ्यकर्मी हरि बिष्ट, नगर पशु सेवा शाखाबाट प्रविधिक पहल केसी, कबिता देबकोटाको टोली खटिएको थियो । टोल बिकास संस्थाहरुको सहजिकरणमा शिविर संचालन गरिएको हो । गलम्पाटी र खड्का टोलमा वडा सदस्य बुद्धिप्रसाद रोकाय र कामी बुढा टोल र नमुना बस्ती टोलमा वडा सदस्य अनिराम कठायतको नेतृत्वमा टोली खटिएको थियो ।
सबै सवा टोलमै पाएपछि मुसिकोट १० वासी हर्षित भएका छन् । वर्षातको समयमा सेवा लिन सहज रुपमा वडा कार्यालयसम्म पनि पुग्न नसक्ने अवस्थामा टोलमै सबै सेवा पाएपछि खुसी लागेको वडावासीको भनाई छ । वडावासीको सहजताका लागि टोल टोलमै सेवा दिएको वडा कार्यालयको भनाई छ ।