Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोटले बाहिरबाट आउने तरकारीमा ७५ प्रतिशत कर लगाउने 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले तरकारी आयातलाई रोकि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि नगरपालिकाले जिल्ला बाहिर वा विदेशबाट आयातित तरकारी बालीमा ७५ प्रतिशत करको दायरा कायम गर्ने गरी नीति कार्यक्रम निर्माण गरेको छ । 

नगरपालिका भित्रका कृषकहरुको उत्पादन बिक्रि वितरणको सहजताको लागि बाहिरी जिल्ला वा विदेशबाट आउने तरकारीमा कुल मुल्यको ७५ प्रतिशतसम्म कर लगाइने निती कार्यक्रम बनाइएको नगर प्रमुख रबि केसीले जानकारी दिनुभयो । 

स्थानीय स्तरमै उत्पादन भएको अर्गानिक तरकारीको बजार सुनिश्चित गर्ने र बाहिरबाट आउने विषाधियुक्त तरकारीको आयातलाई रोक्ने उद्ेश्यले यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो । यो विषय नीति, कार्यक्रममा समेटिएको र अव कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिने उहाँको भनाई छ । 

त्यस्तै नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुको बजार सुनिश्चित गर्न स्थानीय हाटबजार लगाउने भएको छ । कृषि उपज संकलन केन्द्रको व्यवस्था र वेमौसमा पनि भण्डारण गरी बिक्रि वितरणका लागि चिस्यान केन्द्रको समेत व्यवस्था गर्ने नीति कार्यक्रममा उल्लेख छ । नगरपालिकाले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकता दिने कार्यक्रम पनि बनाएको छ । 

‘किसानको उत्पादन बजारमा, अनुदान किसानको नजरमा’ भन्ने नारालाई अघि सारिएको नगर प्रमुख केसीले बताउनुभयो । यो नारा अन्तर्गत कृषकहरुले उत्पादन गरेको तरकारी र फलफूल बालीमा उत्पादन बिक्रिको परिमाणको आधारमा २५ प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने उहाँले बताउनुभयो । 

उत्पादनका लागि अनुदान कार्यक्रम प्रभावकारी बन्न नसकेकोले उत्पादनका आधारमा अनुदान दिने गरी कार्यक्रम बनाइएको उहाँको भनाई छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले नीति कार्यक्रम र बजेटको व्यवस्थापन गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

स्थानीय उत्पादनलाई प्रोत्साहन नगरेसम्म कृषिमा व्यवसायिकरण नहुने भएका कारण नगरपालिका स्थानीय उत्पादनको प्रोत्साहन, बजारीकरण र भण्डारणमा गम्भिर बनेको उहाँले बताउनुभयो । यसका साथै कृषिको दिगो विकासको लागि धान, गहुँ, मकै, तरकारी र मसला बालीहरुको वीउविजन वृद्धि गर्ने तथा उत्पादन वृहत्त पकेट क्षेत्र विकास गर्ने कार्यक्रम समेत संचालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । 

उत्पादनमा सहभागी इच्छुक कृषक, कृषि फर्म, कृषि उद्यमी, कृषक समुह, कृषि सहकारीसंग स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा पकेट, ब्लक विकासय कार्यक्रम संचालन गर्ने पनि नीति कार्यक्रम बनेको छ । आठबीसकोट नगरपालिकामा विशेषगरी फलफूल खेती राम्रो हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update