Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्रको बैठक आज

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको बैठक डाकिएको छ । आज  विहान ११ बजे जिल्ला सदरमुकाम खलंगा स्थित सहिद स्मृति प्रतिष्ठानको सभा हलमा बैठक बस्ने तय भएको छ । माओवादी केन्द्र र एमालेको एकता भंग भएपछि पहिलो पटक जिल्ला समितिको बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, नयाँ राजनीतिक कार्यक्रम तय गर्ने तथा जिल्लामा सञ्चालित आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणको अभियानको समिक्षा गरिने अध्यक्ष गोपाल शर्माले जानकारी दिनुभयो । बैठकमा पार्टीको पालिका स्तरीय रिर्पोटिङ गरिनेछ । रिर्पोटिङका आधारमा थप कार्यक्रम गरेर जाने पनि हुन सक्ने अध्यक्ष शर्माले बताउनुभयो ।

माओवादी र एमाले एकता भएपछि बनेको जिल्ला समितिको संख्या नै माओवादी केन्द्रको पनि जिल्ला समितिको संख्या हुनेछ । १ सय ४९ सदस्यीय जिल्ला समितिमा नआउने सदस्यको ठाउँमा अरु मनोनित गरेर सदस्य फुलफिल गर्ने तयारी माओवादी केन्द्रले गरेको छ ।

पहिलाको १ सय ४९ मध्य केही सदस्य नआउने निश्चित भएका कारण पनि सदस्य थपेर समिति पूर्ण गर्ने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । जिल्ला, पालिका र वडा हुँदै सेल समितिलाई सृदृढ बनाउने गरी कार्यक्रम तय गर्ने पनि उहाँले जानकारी दिनुभयो । बैठकमा जिल्ला इन्चार्ज राजकुमार शर्मा, सह-इन्चार्ज वसन्तकुमार शर्माको उपस्थिति रहने जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update