Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पतालमा पहिलो पटक विशेष नवजात शिशु हेरचाह कक्ष संचालन हुँदै 
जिल्ला अस्पतालमा रहेकाे विशेष नवजात शिशु हेरचाह कक्ष । याे कक्ष संचालनमा आउन बाँकी छ ।

जिल्ला अस्पताल सल्लेमा पहिलो पटक विशेष नवजात शिशु हेरचाह कक्ष (एस.एन.सि.यु.) संचालन हुने भएको छ । जन्मिदै कम तौल भएका बच्चा, जन्मिने वित्तिकै हुने जण्डिस, निमोनिया तथा चिसोका कारण हुने जोखिम न्युनिकरणको निम्ति अस्पतालमा विशेष नवजात शिशु हेरचाह कक्ष संचालन हुन लागेको हो । 

उक्त कक्षका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरु उपलब्ध भइसकेका छन् । वान हर्ट वल्र्ड वाइड तथा रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित स्थानीय सरकारको साझेदारीमा नव शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्तर्गत जिल्ला अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण गरिएको हो । 

इन्कुबेटर, बेवि वार्मर, फोटो थेरापि लगायतका सामग्री अस्पताललाई उपलब्ध गराइएको वान हर्ट वल्र्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिनुभयो । ११ लाख लाख बराबरका सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कक्ष संचालन भएमा समस्या भएका बालबालिकाहरुलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । 

अहिले जन्मिदै कम तौल भएका बच्चा, जन्मिने वित्तिकै जण्डिस भएका, निमोनिया तथा चिसोका कारण समस्या रहेका नवजात शिशुलाई उपचारका लागि जिल्ला बाहिर रेफर गर्ने गरिएको छ । यस कक्षमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन हुने छन् । उक्त कक्ष छिट्टै संचालनमा आउने जिल्ला अस्पतालले जनाएको छ । 

वान हर्ट वल्र्ड वाइड तथा रुकुमेली समाज विकास केन्द्रद्धारा संचालित स्थानीय सरकारको साझेदारीमा नव शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालनमा छन् । परियोजनाले वर्थिङ सेन्टर निर्माण, वर्थिङ सेन्टरमा अत्यावश्यक सामग्री हस्तातरण तथा स्वास्थ्यकर्मीहरुका लागि क्षमता अभिबृद्धि तालिमहरु संचालन गर्ने गरेको छ । 

त्यस्तै जिल्ला अस्पताल सल्लेमै प्रसुति कुरुवा घर निर्माण भइरहेको र काम अन्तिम चरणमा रहेको जिल्ला संयोजक गिरीले बताउनुभयो । उहाँका अनुसार उक्त प्रसुति कुरुवा घर निर्माण सम्पन्न भई भदौ १३ गतेबाट संचालनमा आउने छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update